विष्णुप्रसाद पोखरेल दमक । झापाको दक्षिणी सिमावर्ती गाँउपालिका गौरीगन्जमा रहेको पशु क्वारेन्टाइन चेकपोष्टमा कर्मचारीहरु नियमित नआउने र नियमित जाँच समेत नहुने गरेको पाईएको छ । सरकारी कार्यालय समेत कार्यालय जस्तो नरहेको र कर्मचारीहरु समेत नआउने गरेको स्थानीयहरुले बताएकाछन् ।
पशु क्वारेन्टाइन चेकपोष्टहरुले बाह्य मुलुकबाट पैठारी भएका पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको पशु क्वारेन्टाइन चेकपोष्टको निश्चित स्थानमा क्वारेन्टाइन जाँच गर्नु पर्ने उदेश्य अनुसार यहाँ कार्यालय रहेपनि यो कार्यलय भए नभए एवं कर्मचारी आए नआएको आफुहरुलाइ केहि पनि जानकारी नहुने गरेको गाँउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार स्थानीय एकजना कार्यालय सहयोगी रहेको आफुले सुनेको जनाउदै नियमित रुपमा कर्मचारीहरु नआउने गरेको गुनासो रहेको जनाउनु भयो । खुला सिमानाको फाईदा उठाई क्वारेन्टाइन नाका छलि पैठारी हुने कुनैपनि पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीहरुलाई निरुत्साहित गर्न नाका अनुगमन गरिने जिम्मेवारी समेत भएको चेकपोष्ट अहिले श्रोत साधन विहिन रहेको पनि पाईएको छ ।
भारतबाट माछा, कुखुरा। अण्डा लगायतका सामाग्रिहरु भित्रिएपनि कर्मचारीहरु देखेको नदेखेकै गर्दै आएको बताईएको छ । एउटा कोठामा दराज र एउटा कुर्सि र टेवलमात्र राखेर कार्यालय सञ्चालनमा रहेको छ । कार्यालयमा भेटिनु भएकी कार्यालय सहयोगि ललिता प्रशाइले हाटका एकदिन मात्र जाँच गरिने र अरु दिन केहि पनि नआउने बताउनु भयो ।
त्यो पनि माछामात्र आउने भएकाले जाँच गर्ने केहि नभएकाले सुघेर र हेरेर जाँच गर्ने गरेको उहाँको भनाइ रहेको छ । हाटको दिन कार्यालय प्रमुख तथा डाक्टर समेत आउने गरेको बताउदै उहाँले भन्नुभयो, हामी माछा मरेको छ कि छैन, कुहिएर गनाए नगनाएको सुघेर जाँच गर्ने गरेका छौ ।
३ जनाको दरबन्दि रहेको यस कार्यालयमा नियमित रुपमा कार्यालय सहयोगि केहि समय आउने गरेको बताइएको छ । क्वारेन्टाइन कार्यालयमा जाँच गरेको रेकर्ड माग्दा कार्यालय सहयोगि प्रशाइले कार्यलय प्रमुखले दराजमा चाँबी लगाएर गएका कारण दिन नसक्ने बताउनु भयो । हाजिरी खाता समेत उहाँले देखाउन सक्नु भएन । कार्यालय प्रमुख सुवनारायण यादब, चिकित्सक डा.रमेश घिमिरे र एक नायवसुब्बा लक्ष्मि बास्कोटाको यस कार्यालयमा रहनु पर्ने भएपनि कोहि पनि भेटिने गरेकाछन् ।
बाह्य मुलुकबाट देशभित्र पैठारी गरिएका तथा देश भित्रबाट बाह्य मुलुक तर्फनिकाशी गरिएका पशु, पशुजन्य पदार्थ, तथा पशु उत्पादन सामाग्रीहरुको प्रष्ट रेकर्ड अध्यावधिक गरि प्रत्येक महिना प्रगती पठाउनु पर्ने कार्यालय अब्यवस्थित र सरकारी कार्यालय जस्तो समेत रहेको छैन । कार्यालय प्रमुख सुवनारायण यादवले आफुहरु काम बिशेषले बाहिर रहने गरेकाले त्यहाँ कार्यालयमा नदेखिने गरेको बताउनु भयो ।










