बिष्णुप्रसाद पोखरेल
दमक/प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको समयमा भएको सम्झौता अनुुसार झापाको रतुवा, मावा, कन्काइ सहितका ३ वटा खोलाहरुको ब्यवस्थित तटबन्धनका लागि प्रारम्भिक चरणको अध्ययन आज बुधबारदेखि शुरु हँुदैछ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार बिहानै देखि मावा खोलामा चीनिया र नेपाली प्राविधिक टोलीले संयुक्त रुपमा काम थालनी गर्ने तय भएको छ । मावा खोलाको सिरानबाट काम शुरु हुनेछ ।
संघीय साँसद एलपि साँवाका अनुसार ठुला खोलाहरुमा कम्तिमा २ दिन लगाएर टोलीले सम्भाब्यता अध्ययन गर्नेछ । चीनिया कम्यूनिकेशन कन्ट्रक्सन कम्पनीका ७ जना प्राविधिकहरु टोलीमा रहेकाछन् ।
मंगलवार चीनिया टोली झापा आइपुगेको छ । उनिहरुले प्रारम्भिक चरणकोे छलफल समेत सरोकारवाला निकायहरुसंग गरिसकेकाछन् । जनताको तटबन्धनको कार्यालय गैडेमा प्रारम्भिक छलफल भएको हो ।
पुर्व साँसद एवं नेकपाका नेता दीपक कार्कीका अनुसार छलफलले सबै अध्ययन हुने खोलाहरुमा कहिले कहाँ जाने भन्ने तय गरेको छ । मावाबाट अध्ययन शुरु हुने तय भएको उनको भनाइ छ ।
मावा नदी झापा जिल्ला र मोरङ जिल्लाको सीमा नदीका रूपमा रहेको झापाको पश्चिम सीमा भई वग्ने मावा नदीको उद्गम स्थल इलाम जिल्ला हो। यो महाभारत पर्वत श्रृङ्खलाबाट निस्किएको हुँदा यहाँ वर्ष भरी नै पानी बगिरहन्छ। यस नदीबाट वर्षायाममा सिंचाई सुविधा उपयोग गरेको खण्डमा झापा जिल्लाको दमक, लखनपुर, लगायत मोरङ जिल्लाका किसानहरूले पनि फाइदा लिन सक्छन। चुरे पर्वत श्रृङ्खलाको वनको घट्दो अवस्था र भूक्षयका कारणले बगेर आउने वालुवाले नदीको सतह उठ्दै गई नदीकटान र कृषि योग्य भूमिमा वालुवा थुपार्ने समस्या यस नदीबाट भोग्नु परिरहेको छ।









