अनसनरत प्राध्यावक डा. गोविन्द केसीले कर्मचारीहरुसँग वार्ता नगर्ने बताएका छन् । उनले मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न सरकारसँग माग गरेका छन् ।

सरकारी टोलीसँग वार्तामा सहभागी डा. केसीपक्षका वार्ता टोली सदस्यहरुले सचिवस्तरीय वार्ता टोलीसँग वार्ता नगर्ने भन्दै मन्त्रीस्तरीय वार्ता टोली गठन गर्नुपर्ने माग अघि सारेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबार विज्ञप्ति जारी गरी डा. केसीले आवश्यक म्याण्डेट नै नदिई कर्मचारीमात्र सम्मिलित वार्ता टोली बनाएर झारा टार्ने काममात्र भएको आरोप लगाएका छन् । केही दिनअघिसम्म सरकारले वार्ताको लागि पहन नगरेको आरोप लगाउने केसीकाले सरकारले मन्त्रीपरिषद् बैठक अनुसार वार्ता टोली बनाउँदा पनि एकपछि अर्काे माग थप्दै जान थालेका छन् ।

डा. केसीसँग वार्ता गर्नका लागि सरकारले तीन दिनअघि शिक्षा सचिव डा. खगराज बरालको नेतृत्वमा गृहमन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

त्यसैगरी, डा. केसीको पक्षबाट डा. अभिषेकराज सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओम प्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधिहरु वार्तामा सहभागी छन् ।

डा. केसीको मागको बटमलाइन भनेको संसदमा तोडमोड गरी पेश गरिएको विधयेक फिर्ता हुनुपर्छ भन्ने रहेकाले उक्त माग पूरा नभएसम्म वार्तामा नजाने उनका सहयोगी डा. अभिषेकराज सिंहले बताए । सरकारले वार्ताका लागि पहल गरेपनि केसीपक्ष मिलनविन्दु खोज्ने मनशायमा नदेखिएको सरकारको तर्फबाट वार्तामा सहभागी एक प्रतिनिधिले बताए ।

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएको बताइएको छ । उनको रगतमा म्याग्नेसियाको मात्रा कम भई ‘हाईपोक्यालेमिया’को समेत समस्या देखिएको छ । त्यस्तै, चिसोका कारण उनमा फेरेन्जाइटिसको समस्या समेत देखिँदै आएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी १९ दिनदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत छन् । डा.केसीको यो १५ औं अनसन हो ।