बिष्णुप्रसाद पोखरेल दमक । झापाका प्रमुख ४ वटा खोला सहित अन्य खोलाहरुको ब्यवस्थित एबं बैज्ञानिक तटबन्धनका लागि चीनिया र नेपाली प्राविधिहरुको टोली संयुक्त रुपमा सहभागि भएर बुधबारदेखि अध्यन शुरु भएको छ । पहिलो दिन झापा र मोरङ सिमना भएर बग्ने खोला मावा खोलाको अवस्थाबारे टोलीले अध्यन गरेको छ ।
बुधबार बिहानैदेखि चीनिया कम्युनिकेशन एण्ड कन्ट्रक्सन कम्पनीको तर्फबाट याउको नेतृत्वमा आएका ७ जना चीनिया प्राविधिक र जलश्रोत तथा सिचाइ बिभागका सिनियर डिभिजन इन्जिनियरहरु अरबिन्दकुमार गुप्ता र बिनय पौड्याल सहित दिनभर चर्को घाममा खोलामा नै रहेको थियो ।
सिनियर डिभिजन इन्जिनियर गुप्ताका अनुसार बढिमा ६ महिनाभित्रमा यो टोलीले प्रतिबेदन बनाएर सरकारलाइ बुझाउने अपेक्षा लिइएको छ । यो प्रारम्भिक चरणको सर्वे भएकाले त्यसपछि फेरी थप अध्ययन हुनेछ ।
अर्का सिनियर डिभिजन इन्जिनियर पौड्यालका अनुसार झापाका ९ वटा खोलाहरुको दुबैतर्फ गरेर करिब ५ सय किलोमिटर तटबन्धन आवश्यक देखिएको छ । २५ सय किलोमिटर एकातर्फ पर्दछ ।
मावा खोला झापा जिल्ला र मोरङ जिल्लाको सीमा खोलाका रूपमा रहेको झापाको पश्चिम सीमा भई वग्दछ । मावा नदीको उद्गम स्थल इलाम जिल्ला हो । यो महाभारत पर्वत श्रृङ्खलाबाट निस्किएको हुँदा यहाँ वर्ष भरी नै पानी बगिरहन्छ ।
टोलीमा साँसद देखि लिएर स्थानीय सरकार प्रमुखसम्मको सहभागिता रहेको थियो । संघीय साँसद एलपी साँवा, प्रदेश साँसदहरु अर्जुन राइ, झलकसिंह दर्लामी, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, प्रधानमन्त्रीका नीजि स्वकीय सचिवालयका सदस्य होमबहादुर थापा लगायत पनि दिनभर खोलामा रहे ।
पुर्व साँसद दीपक कार्की, दमक नगर उपप्रमख गीता अधिकारी, दमक नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत गणेश तिम्सिना, नेकपा नेता गगन पुरी, जनप्रतिनिधिहरु र नगरपालिकाका प्राविधिकहरु लगायत पनि सहभागि थिए ।
प्रधानमन्त्रीका नीजि स्वकीय सचिवालयका सदस्य एवं जनसम्पर्क समन्वय प्रतिनिधि होमबहादुर थापाका अनुसार टोलीले केहि दिन यहाँ रहेर काम गर्नेछ । यसमा आफुहरुले सहयोग गर्ने उनले जनाए । एक महिना अघि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाँदा झापाका ९ खोला तटबन्धनका लागि बिस्तृत परियोजना विवरण बनाउने बिषयमा सम्झौता भएको थियो ।
झापाका खोलाहरुलाइ दीर्घकालिन रुपमा तटबन्धन गर्न र यसलाइ बहुउपयोगमा ल्याउनका लागि प्रारम्भिक चरणको काम शुरु भएको बताउदै यसले झापा जिल्लामा बाढीको जोखिमलाइ अन्त्य गर्न केहि बर्षमा नै सम्भव हुने झापा क्षेत्र नं. ५ का साँसद एलपी साँवाले बताए ।











