काठमाडौं, २५ पुस । व्यवस्थापिका संसदको बैठकमा आज संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुने भएको छ ।
निर्वाचन विधेयक र लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा पहिला छलफल गर्ने कार्यसूची राखिएको छ । छलफल गर्न व्यवस्थापिका संसदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आइतबार विपक्षी दलका सांसदको नाराबाजीका बीच नै सभामुख ओनसरी घर्तिमगरको निर्देशनमा विधेयक पेश भएको हो । तर विपक्षी एमालेसहितका ९ दलले भने सरकारले झुक्याएर जबरजस्ती संशोधन प्रस्ताब टेबल गरेको भन्दै त्यसलाई असफल बनाउने प्रतिक्रिया दिएका छन् ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले जबरजस्ती विधेयक पेश गरेर आफैं समस्यामा फसेको प्रतिक्रिया दिए । आजको बैठकमा संशोधन विधेयक छलफलका लागि अघि बढाए अवरोध गर्ने उनले बताए । तर यो प्रस्ताव पाको हुन र छलफलको प्रक्रियामा जान केही दिन अझै लाग्ने छ ।
पहिले निर्वाचन विधेयकसहितको अरु बिधेययक पारित गरेर मात्रै संशोधनमा प्रवेश गर्ने सरकारको तयारी छ । कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले आजदेखि निर्वाचन कानुनमा छलफल हुने जानकारी दिए । कानुनमन्त्री अजयशंकर नायकले अझै पनि सहमतिको प्रयास जारी रहेकाले सहमति हुने दाबी गरे ।



