प्रहरीले बल प्रयोग गर्दा प्राध्यापक डा. गोविन्द केसी अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपको स्थिति सिर्जना भएको छ। प्रहरीलाई प्रतिष्ठान प्रवेश गर्न दर्जनौँ विद्यार्थीहरूले अवरोध गरेपछि उनीहरूलाई हटाउन प्रहरीले बल प्रयोग गरेको हो।
तर विद्यार्थी र केसीका समर्थकले केसी अनसन बसिरहेको कक्षको गेटमा बसेर अवरोध जारी राखेका छन्। प्रहरीले विद्यार्थीहरूलाई हटाउन खोज्दा केसीका समर्थकसँग धकेलाधकेल भएको थियो।
सशस्त्र प्रहरी अवरोधको पहिलो घेरा तोडेर अनसनस्थलको गेटमा पुगेको छ जहाँ विद्यार्थीहरू बसिरहेका छन्। तर नेपाल प्रहरीको टोली भने भवन बाहिर नै छ। अनसनस्थलबाहिर करिब ४०र५० जना सशस्त्रको टोली बसेको छ।
बल प्रयोग नगरी प्रहरी भित्र जान नसक्ने र केसीका समर्थकले प्रहरीलाई भित्र जान अवरोध गर्ने परिस्थितिले यहाँ झडप निम्तने खतरा देखिएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारीले प्रहरीलाई भित्र प्रवेश गराउने र केसीलाई काठमाडौं पठाउने कामको संयोजन गरिरहेका छन्।










