काठमाडौँः जुम्लामा २० दिन अनशन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर काठमाडौँ ल्याएको छ ।
जुम्लाबाट सुर्खेत हुँदै डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो । अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झिेकर केसीलाई नेपाली सेनाको व्यारेकमा लगेपछि त्यहाँबाट हेलिकोप्टरमा सुर्खेत झारिएको थियो ।
त्यहाँ हेलिकोप्टर केही समय रोकेर काठमाडौँका लागि उडेको हो । केसी काठमाडौँ ल्याइएसँगै उनको उपचार गरिने अस्पतालबारे प्रश्न उठेको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले केसीलाई सरकारले काठमाडौँ ल्याउने भएपछि बिहीबार बिहानै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र आईएमओका डिनलाई शिक्षण अस्पताल तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए ।
तर, गृहसचिव प्रेमकुमार राईले भने सरकारले केसीको उपचारका लागि वीर अस्पताल तयारी अवस्थामा राखिएको बताएका छन् । ‘सरकारले केसीको उपचारका लागि वीर अस्पतालमा तयारी गरिसकेको छ’, उनले अन्नपूर्ण अनलाइनसँग भने ।
तर राईले वीर अस्पताल तयारी अवस्थामा राखिए पनि केसीको इच्छा अनुसार उनको उपचार गरिने बताएका छन् । ‘हामीले वीरमा उपचारको प्रबन्ध गरेका छौँ तर केसीको इच्छा र रोजाइ अनुसारकै अस्पतालमा उपचार हुनेछ’, राईले भने ।
अर्कातिर नेपाली सेनाको छाउनस्थित सैनिक अस्पतालमा पनि केसीको उपचारका हुने बताइएको छ । तर, सेनाको अस्पतालमा लैजाँदा नकारात्मक सन्देश जान सक्ने चिन्ता पनि सरकारलाई रहेको छ ।
यस्तोमा वीर या शिक्षण अस्पतालमा केसीलाई राखिने सम्भावना छ । तर, चिकित्सकहरुले विगतमा पनि शिक्षण अस्पताललाई आन्दोलनको केन्द्र बनाएकाले वीरमा उनको उपचार हुने सम्भावना पनि छ ।










