बिष्णुप्रसाद पोखरेल
दमक । झापाको दक्षिणि सिमावर्ती गाँउपालिकाको गौरीगन्जमा निर्माणाधिन रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन ठेकेदारको लापरबाहीका कारण ८ बर्षमा पनि बनिनसकेको पाईएको छ । शुरुवातमा बनेका संरचनाहरु पुराना बनेर भत्कन लाग्ने अवस्था आउदा समेत भवन निर्माण सम्पन्न नभएको बताईएको छ ।
१८ महिनामा काम सकेर स्वास्थ्य केन्द्र हस्ताण्तरण गर्ने निर्माण सम्झौतामा उल्लेख भएपनि ८ बर्ष नाघ्न लाग्दा समेत अहिलेसम्म स्वास्थ्य केन्द्र निर्माण नभएपछि स्थानीयहरुले सहज रुपमा स्वास्थ्य सुविधा पाइरहेकाछैनन् । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रम अन्तर्गत यो भवन निर्माण अघि बढाएको थियो ।
निर्माण कम्पनीले २०६७ साल जेठ १४ गते १८ महिनामा काम सक्ने गरी शंकरमाली÷पुष्पाञ्जली÷कुन्सालिङ्ग जेभीले संयुक्त रुपमा निर्माणको काम जिम्मा लिएको बताईएको छ । तत्कालिन अवस्थामा ३ करोड ६२ लाख ६३ हजार ९ सय ७८ रुपैया“मा ठेक्का सम्झौता भएको । ठेक्का सम्झौता भएपछि निर्माण कम्पनीहरुमध्ये पुष्पाञ्जलीले उक्त काम सम्पन्न गर्ने गरी काम थालेको थियो ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका अनससार सम्झौता अनुसार २०६८ मंसिर १२ गते भवन निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख रहेको छ । स्थानीय सामाजिक अगुवा नीरज अग्रवालका अनुसार १५ बेडको स्वास्थ्य केन्द्र अस्पतालको भवन बनाउन थालिएको ८ बर्ष बित्दा समेत नबन्दा समेत कसैको चासो गएको छैन । स्थानीयहरुको स्वास्थ्यको बिषयमा गम्भिर नहुदा यो अवस्था आएको उहाँको भनाइ छ ।
गौरीगन्ज गाउ“पालिका ६ स्थित खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा गौरादह नगरपालिका र गौरीगन्ज गाँउपालिकाका अधिकाँश बिरामीहरुको उपचारका लागि प्रमुख स्वास्थ्य संस्थाको रुपमा यो रहेको छ । अहिले सामान्य उपचारका लागि समेत २५ किलोमिटर टाढा रहेको दमकमा जानु पर्ने अवस्था रहेको अग्रवालको भनाइ छ ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका साइड सुपरभाइजर सुरज दाहालका अनुसार पछिल्लो समयमा केहि काम शुरु भएको छ । करिब ८५ प्रतिशत काम पुरा भएको र अझै १५ प्रतिशत काम बाँकी रहेको उहाँले बताउनु भयो । बारम्बार रुपमा निर्माण ब्यवसायीहरुलाइ छिटो गर्न बताउदा सुनेको पनि नसुनेको जस्तो गर्ने गरेको उहाँको दुखेसो रहेको छ ।
कुन्सालिङ्गका सञ्चालक मिङ्मा शेर्पाले संयुक्त रुपमा काम गर्दा समस्या भएको बताउनु भयो । शेर्पाले आफुले पाउनु पर्ने रकम पाएमा भदौ महिनाभित्र काम सकेर जिम्मा लगाउने पनि दाबी गर्नु भयो । १ करोड ५६ लाख रुपैया“ निकासा पाए आफुले भदौ मसान्तसम्म भवन जिम्मा लगाउने उनको भनाइ थियो ।










