संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्धन्द्ध बढाउने पक्षमा नरहेको भएपनि निहुँ खोजे कुनै पनि हालतमा नझुक्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले सरकार अनशनरत डाक्टर गोविन्द केसीका मागहरु वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको बताए ।
उनले भने,‘हामी डाक्टर केसीका मागहरु वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार छौं, हामीले वार्ता टोली पनि बनाएका छौं, वार्ताबाहेक आँखा चिम्लिएर सडकबाट माग पूरा गर्नुपर्छ भनेर हुँदैन्, भोलि कसैलाई प्रधानमन्त्री बन्न रहर लागेर अनशन बस्यो भने के हामीले विचरा अनशन बसिहाल्यो भनेर भन्ने हो त ? लोकतान्त्रिक प्रक्रिया र पद्धती छ नि।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विद्येयक कुनै पनि हालतमा फिर्ता हुने सम्भावना नरहेको सुनाए । उनले भने,‘संसदमा प्रस्तुत भएको विद्येयक संशोधनमार्फत पारित हुनसक्छ, तर बिच बाटोबाटै फिर्ता लिने काम हामीबाट हुँदैन, यो सम्भव छैन्।’
सरकारको तर्फबाट आफूहरुले डाक्टर केसीका मागहरु पूरा गर्न कुनै कसर बाँकी नराखेको उनको भनाई छ । उनले भने,‘उहाँको जीवन रक्षाको लागि पहलकदमी लिएका छौं, डाक्टर केसीले उठाएका जायज मागहरु वार्ताको माध्यमबाट समाधान हुन्छन्।’ डाक्टर केसीको अनशन सफल भएन आफ्नो पार्टीको औचित्य नै समाप्त हुनेगरि केही नेताहरु लागिपरेको र यो देख्दा आफूलाई दुःख लागेको मन्त्री पण्डितको भनाई छ ।
उनले भने,‘कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन, संविधान, ऐन, कानून, नियम र प्रजातान्त्रिक अभ्यास अनुसार चल्नुपर्छ, सरकार डाक्टर केसीका जायज मागहरु पूरा गर्नेतर्फ अग्रसर छ, सरकारको यही आग्रह छ र रहन्छ, अहिलेसम्म अनशनबाट मात्रै कुनै पनि मुद्दा समाधान भएका छैनन, त्यसैले वार्ता र सहमति खोज्नुपर्छ, सम्वाद गर्नुपर्छ।’
सरकारको नीति नै निजी, सहकारी र सरकारीलाई साथसाथमै लिएर समृद्धि हाँसिल गर्ने भएकोले आफूहरु कुनैपनि क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा नरहेको उनको जिकिर छ । उनले भने,‘आज सयौंको संख्यामा नेपाली विद्यार्थीहरु मेडिकल शिक्षाको लागि बंगलादेश, पाकिस्तान, भारत लगायतका देशहरुमा गैरहेका छन्, हामी नेपालमा मेडिकल कलेज खोल्नै हुँदैन भन्ने पक्षमा छैनौं, मेडिकल कलेजहरुका शुल्क निर्धारण गरौ, मेडिकल कलेज खोल्नै हुँदैन भनेर निषेध गर्ने कुरामा हाम्रो समर्थन हुँदैन्।’
वर्तमान सरकार जनताको भावना र चाहना विपरित नरहेको सुनाउँदै उनले नकारात्मक कुरामात्रै बोक्ने र च्याँखे थापेर सरकारलाई अप्ठ्यारो पार्ने काम नगर्न पनि सुझाए । उनले भने,‘नकारात्मक कुरामात्रै बोकेर र च्याँखे थापेर सरकारलाई अप्ठ्यारो नपारौं, यसले प्रतिफल राम्रो दिँदैन्।’
सरकार नीति तथा कार्यक्रम, बजेट ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागु गर्ने बाटोमा दृढताका साथ अघि बढिरहेको उनले विश्वास दिलाए । उनले भने,‘जनताको विश्वास प्राप्त सरकार छ, हामी पूर्ण रुपमा प्रजातान्त्रिक तरिकाबाट काम गर्छौं।’
यद्धपी मन्त्री पण्डितले अहिले नै जनतासामू गरेका वाचा अनुसार सबै काम पूरा भैसक्यो र जनताका चाहना सबै पूरा भैसक्यो भन्ने ठाउँमा आफूहरु नरहेको स्पष्ट पारे । उनले भने,‘हामीले जनतासामू गरेका वाचा, प्रतिबद्धता र योजनाहरु बीचमा जतिसुकै तगाराहरु लगाउने काम भएपनि ती सबै अप्ठ्याराहरु पन्छाएर हामी अगाडि बढ्छौं, सरकार अघि बढ्छ।’
सरकारलाई समर्थन गरेका राजनीतिक दलका नेताहरुलाई उनले ईमानदारितापूर्वक समर्थनलाई निरन्तरता दिन आग्रह गरे । उनले भने,‘सरकारको आलोचना गर्नेहरुले पनि उचित मूल्यांकन गरेरमात्रै बोल्नुपर्छ, हामी जनताले लिएको परीक्षाबाट पास भएर आएका हौं, आफुले भनेको कुरा जस्ताको तस्तै हुनुपर्छ भन्ने कुरा प्रजातान्त्रिक हुनै सक्दैन्।’
सरकारमा सहभागी हुनको लागि राजपाका नेताहरुलाई सरकारले बारम्बार आग्रह गरिरहेको पनि उनले सुनाए । उनले भने,‘हामीले बिना पूर्वाग्रह उहाँहरुलाई सरकारमा सहभागी हुनको लागि बारम्बार आग्रह गरिरहेका छौं, आउनुहोस सरकारमा मिलेर जनताका भावना अनुसार काँधमा काँध मिलाएर काम गरौं, हामी त भनिरहेका छौं।’ रिपोटर्स नेपाल बाट










