विष्णुप्रसाद पोखरेल दमक । झापाको रतुवामाई वृक्षारोपण आयोजना शुरु भएको करिब २८ बर्षपछि यहाँको सिमसार क्षेत्रको खोजी र संरक्षणको काम शुरु भएको छ । कमल गाँउपालिका र शिवसताक्षी नगरपालिकका ३ वटा ठुला र पर्यटकीय महत्व राख्न सक्ने सिमसारहरुको ब्यवस्थापनका लागि काम शुरु भएको बताईएको छ ।

वन पैदावार विकास समितिको आफ्नै वित्तीय स्रोतबाट झापा जिल्लामा आर्थिक वर्ष २०३५÷३६ देखि रतुवामाई वृक्षारोपण आयोजना शुरु गरिएको र यहाँको सिमसार संरक्षणको प्रयास भने पहिलो पटक भएको बताइन्छ । स्थानीय तहहरुसंग समन्वय र सहकार्य गरेर आफुहरु अघि बढ्ने आयोजनाको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छिटो बढ्ने रुख प्रजातिको उचित व्यवस्थापन मार्फत काठ, दाउरा तथा अन्य वन पैदावारको उत्पादन गर्ने, आयोजनाहरुले उत्पादन गरेका वन पैदावारको सदुपयोग, बिक्री तथा आपूर्ति व्यवस्थापन गर्ने र आयोजना वरिपरि बस्ने स्थानीय जनतालाई रोजगारीको अवसर प्रदान गर्नेतर्फ मात्र ध्यान जाँदा सिमसारहरु संरक्षण हुन सकेको थिएन ।

कमल गाँउपालिका र शिवसताक्षि नगरपालिकाले पनि यस आयोजना भित्र रहेका सिमसार संरक्षणका लागि बजेट बिनियोजन गर्न थालेपछि संरक्षणको प्रयास शुरु भएको बताइएपनि स्वामित्व बिबादले लगानी भने गर्न समस्या हुने देखिएको छ । शिवसताक्षि नगरपालिकाले चालु आर्थिक बर्षका लागि वडा नं. ३ मा पर्ने डुडामारीमा राजमार्गसंगै सटेको डुडामारी–सताक्षि सिमसारका लागि २ करोड रुपिया बिनियोजन गरेको बताईन्छ ।

रतुवामाई वृक्षारोपण आयोजना केर्खाका प्रमुख खेमलाल विश्वकर्माका अनुसार अघिल्लो आर्थिक बर्षदेखि मात्र आफुहरुले यहाँको सिमसारलाइ पर्यटकीय गन्तब्य बनाउन सकिने भएकाले काम थालनी गरेको बताउनु भयो । यसबाट आम्दानीको श्रोत बढ्नुको साथै पर्यावरणीय सुधारका लागि समेत टेवा पुग्ने अपेक्षा रहेको बिश्वकर्माले जनाउनु भयो ।

शिवसताक्षिको सिमसार करिब डेढ हेक्टरमा फैलिएको उहाँले जानकारी दिनु भयो । सरसफाइ गरेर अहिले यसको परियोजना विवरण बनाउने काम शुरु भएको बताउदै यसका लागि १० लाख रुपिया बजेट समेत आयोजनाको तर्फबाट छुट्टयाईएको विश्वकर्माको भनाइ छ । हामी यसको बिकास, सम्बद्र्धन र प्रवद्र्धनका लागि योजनाका साथ अघि बढ्दैछौ, विश्वकर्मा भन्नुहुन्छ ।

शिवसताक्षि नगरपालिकाका प्रमुख चन्द्र शेर्माले आफुहरुले गुरुयोजना बनाउन थालिसकेको र बनलाइ कुनै असर नगर्ने गरी पर्यटकीय क्षेत्रको रुपमा यसलाइ विकास गर्ने बताउनु भयो । गुरुयोजनाको आधारमा नै यहाँ काम शुरु हुने बताउदै यस बिषयमा रतुवामाइ बृक्षारोपण आयोजनासंग समेत छलफल गरेर अघि बढ्ने उहाँको भनाइ छ ।

कमल गाँउपालिकामा २ वटा सिमसारका लागि स्थानीय स्तरमा संरक्षणको प्रयास शुरु भएको र यसका लागि समिति समेत बनेको जनाईएको छ । यो पनि १ देखि डेढ हेक्टरमा फैलिएको र ब्यवस्थित गर्न बाँकी रहेको बताइन्छ । साधुहोली सिमसार क्षेत्र बर्षौदेखिको बनभोज स्थलको रुपमा समेत चिनिदै आएको छ । गाँउपालिकाले यसको संरक्षणका लागि गुरुयोजना बनाएर काम गर्ने सोच अनुसार गुरुयोजना बनाउने काम थालनी भएको कमल गाँउपालिकाका कार्यापालिका सदस्य चक्र गुरुङले बताउनु भयो ।

बाल्मिकि सिमसार क्षेत्र भने एकबर्ष अघि देखि संरक्षण शुरु गरिएको स्थानीय राजनीतिक तथा सामाजिक अगुवा शिव ढुंगेलले बताउनु भयो । धार्मिक र ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले आफुहरुले यसको संरक्षणका लागि समिति बनाएर काम शुरु गरिएको ढुंगेलको भनाइ रहेको छ । यहाँ पहिला बाल्मिकी आश्रम रहेको स्थानीयहरुले दाबी गर्दै आएकाछन् ।

आयोजना पूर्वमा कन्काइमाई नदी, पश्चिममा रतुवा खोला, उत्तरमा इलाम जिल्लाको चुलाचुली गउँपालिका र माई नगरपालिका, दक्षिणमा झापा जिल्लाको शिवशताक्षी नगरपालिका, कमल गाउँपालिका र दमक नगरपालिकाको पूर्व पश्चिम लोकमार्ग चारकिल्ला भित्रको ३ हजार १ सय २५.३१ हेक्टरमा फैलिएको छ ।