कतिपय बिशिष्ठ र निश्चित घटनाका बिषयमा बोलिएका कुरा र बिचारहरुले कसैको ब्यक्तिगत र सामाजिक इज्जत( प्रतिष्ठामा आँच पूर्याउन खोज्ने आशय मेरो अन्र्तमनको कुनै पनि कुनामा नरहेको स्पष्ट पार्न चाहन्छु । बाहिर अतिरञ्जित गरिएको बिषयले कसैको ब्यक्तिगत, सामाजिक इज्जत र प्रतिष्ठामा ठेस पुगेको महसुस भएमा पनि म क्षमाप्रार्थी रहेको कुरा यसै बिज्ञप्ति मार्फत सार्बजनिक गर्न चाहन्छु ।
दमक/डा. गोबिन्द केसीको आन्दोलनसंगै चर्चाको पात्र बनेका बिएण्डसी अस्पतालका सञ्चालक एवं निर्देशक दुर्गा प्रशाइ चर्चामा रहेकाछन् । उनले बोलेका हरेक बिषयहरुले चर्चा पाउने गरेकाछन् । उनलाई बिभिन्न आरोपहरु समेत लागिरहेकाछन् ।
यसै बिषयलाइ लिएर उनले काठमण्डौबाट बिज्ञप्ति प्रकाशित गरेकाछन् । यता झापामा सामाजिक अगुवाको नाममा बिएण्डसीलाइ मेडिकल कलेजको सम्बन्धन दिन माग गरिरहदा उता काठमण्डौबाट उनले यस्तो बिज्ञप्ति निकालेकाछन् ।
आदरणीय पत्रकार बन्धुहरु,
बिगत ४ बर्ष देखि मेची अञ्चल झापा जिल्लाको बिर्तामोडमा मेरो र मेरो परिबारको लगानीमा संचालित बि एण्ड सि शिक्षण अस्पताल मार्फत हामीले आम जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको यहाँहरु सबैलाई सर्ब बिदितै छ । देशको प्रचलित संविधान र कानूनले तोकेका आवश्यक सम्पूर्ण मापदण्ड र प्रक्रियाहरु पुरा गरेर मेची अञ्चलका आवश्यकताहरुलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याउन खोजिएको बि एण्ड सि मेडिकल कलेजलाई बिबिध अवरोध हुँदा सूदुर पूर्वका आम गरिव दुखी बिपन्न जनताका छोराछोरीहरु डाक्टर बन्न पाउने अवसरलाई रोक्ने काम भईरहेको यहाँहरुलाई अबगत नै छ ।
मैले नेपाल राज्यको संविधान र कानून प्रदत्त अधिकार अनुसार नै मूलुक भित्र ब्यवसाय गरेर जनतालाई सेवा दिन पाउने नागरिक अधिकारको उपभोग गर्दै देश प्रतिको नागरिक उत्तरदायित्व निभाउने प्रयास गरिरहेको छु । स्वतन्त्रता पूर्वक आफ्नो अभिब्यक्ति राख्न पाउने नागरिक अधिकार अनुसार नै म र मेरो व्यवशायसंग जोडिएका बिषयहरुमा मैले आफ्ना तर्कहरु राख्ने गरेको छु ।
तर तत्कालिन अबस्थामा समय सान्दर्भिक र तथ्यगत कुराहरुलाई लिएर ब्यक्त गरिएका मेरा भनाइहरुलाई तोडमोड गरेर केही दिन देखि केही मिडिया र सामाजिक सञ्जालहरुमा मेरो विचार तथा तर्कहरुलाई दूरुपयोग र अतिरञ्जित गर्ने काम भईरहेकोमा मेरो गम्भिर आपत्ति छ । यो बीचमा म र मेरो परिबारको चरित्र हत्या गर्ने, मैले संविधान र कानुन सम्मत प्रयोग गरिरहेको नैसर्गिक अधिकारमा धावा बोल्ने, देशको नियम र कानुन बमोजिम तोकीएको मापदण्डमा रहेर ब्यापार ब्यबसाय गर्नुलाई कुनै दण्डनीय अपराध गरे झैं मेरो मान मर्दन हुने गरि नाना प्रकारका आरोपहरु संगठित रुपमा कुप्रचार भईरहेका छन् ।
यहाँहरुलाई सर्बबिदितै छ, मेडिकल शिक्षाका नाममा हाल देशमा अनाबश्यक राजनीतिक स्वार्थ सांध्ने काम भै रहेको छ । ठिक यहि मेसोमा धमिलो पानीमा माछा मार्ने समूहहरु संगठित रुपमा मेरो नैसर्गिक अधिकार माथि धावा बोलिरहेका छन् । कानूनी राज्यमा ढिलो चाडो त्यस्ता समुहहरुको पहिचान हुने नै छ, कुनै पनि नागरिकको नैसर्गिक अधिकारमाथि आक्रमण गर्ने त्यस्ता समुहहरु कानून बमोजिम दण्डको भागिदार हुने नै छन् र सत्य सेवा भावको मेरो सत्प्रयासमा न्यायको ढोका खुल्नेमा आशाबादी समेत छु ।
डेढ बर्ष अघि मैले मेरो आफ्नो अनुभबको आधारमा स्वदेशमै स्वास्थ्य शिक्षाको अपर्याप्तताका कारणले स्वदेशमा अध्ययन गर्ने अवसर नपाएर बिदेशमा पढ्न जान बाध्य नेपालीहरुको दुःख र सास्तीको बिषयको सूचनाहरुको सत्य तथ्य पत्ता लगाउनु पर्छ र त्यस्तो करुणादायी अवस्था छ भने हाम्रा नेपालका छोरा छोरीहरुको पीडामा न्याय दिनुपर्छ भनेर चिन्ता ब्यक्त गरेको बिषयलाई केहि दिन यता डेढ बर्ष अघि भनिएको पुरै अभिव्यक्तिलाई नै नराखि काँटछाट र तोडमोड गरेर बेमौसमि बाजा बजाउँदै अतिरञ्जित र बिषयको संवेदनशीलतालाई दूरुपयोग गर्ने काम भईरहेको छ ।
मैले कतिपय परिस्थितीमा बिशिष्ट घटनाहरुको बिषयमा बोलेका कुरालाई सूचना प्रबिधिको दुरुपयोग गर्दै सामान्यिकरण गरेर मेरो तेजोबध गर्ने कुराले म कुनै पनि हालतमा मेरो सत्यपथबाट बिचलित हुने छैन किनकी म देश, जनता र सत्कर्मलाई सँधै मध्यनजर गर्दै सम्मान गर्ने गर्दछु ।
मेची अञ्चलका २९ लाख आम जनतालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गुणस्तरीय शिक्षा स्वास्थ्य र रोजगारी सिर्जना गर्ने अभियानमा म मेरो ब्यक्तिगत क्षमता र बुताले भ्याए सम्म निरन्तर रुपमा लागि रहनेछु ।
अन्त्यमा, मैले बिभिन्न समयमा बिशिष्ठ र निश्चित घटनाका आधारमा बोलिएका कुराहरुको रुपमा लिईदिनुहुन, बिषयलाई समग्रतामा बुझिदिनुहुन र ब्यक्तिगत रुपमा नलिइदिनुहुन सरोकारवाला र आम सर्बसाधारणमा हार्दिक अपिल गर्दछु ।
साथै कतिपय बिशिष्ठ र निश्चित घटनाका बिषयमा बोलिएका कुरा र बिचारहरुले कसैको ब्यक्तिगत र सामाजिक इज्जत( प्रतिष्ठामा आँच पूर्याउन खोज्ने आशय मेरो अन्र्तमनको कुनै पनि कुनामा नरहेको स्पष्ट पार्न चाहन्छु । बाहिर अतिरञ्जित गरिएको बिषयले कसैको ब्यक्तिगत, सामाजिक इज्जत र प्रतिष्ठामा ठेस पुगेको महसुस भएमा पनि म क्षमाप्रार्थी रहेको कुरा यसै बिज्ञप्ति मार्फत सार्बजनिक गर्न चाहन्छु ।
देश, जनता र स्वास्थ्य शिक्षाकै पक्षमा लागिरहेको मेरो प्रयास र यथार्थतामा सबैले साथ दिनु नै हुनेछ भन्नेमा बिश्वस्त छु ।
धन्यबाद ।
भवदीय,
दुर्गा प्रसाई
कार्यकारी निर्देशक
बि एण्ड सि टिचिङ्ग अस्पताल
अनारमनि, झापा










