प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी शक्तिहरु छिट्टै हड्बडिने बताएका छन्। सोमबार ४० औँ पुष्पलाल स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस नेपाल कम्युनिस्ट पार्टीको बहुमतको सरकार देखेर तर्सिएको बताए।
पहिलो संविधानसभाको निर्वाचनमा आफूहरुले पराजय हुँदा पनि नहड्बडिएको र जनतालाई सम्झाउँदै बुझाउँदै धैर्यतापूर्वक अगाडि बढेको स्मरण गर्दै उनले कांग्रेसलाई धैर्यता नगुमाउन सुझाव दिए।
कांर्यक्रममा प्रचण्डजस्तै कांग्रेसप्रति आक्रमक देखिएका प्रधानमन्त्री ओलीले आफूलाई लोकतान्त्रिक भनिने कांग्रेसले २०१६ सालमा राजाले संसद भंग गर्दा नेकपाका महासचिव पुष्पलालले पुनस्थापनाका लागि आन्दोलन गरौँ भन्दा नमानेको दावी गरे।
‘कांग्रेसले कम्युनिस्टसँग मिलेर सरकारमा फिर्ता हुनभन्दा घाँटी जोडेर सुन्दरी जलमा बस्न रुचायो’, उनले भने।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कांग्रेसले २०४८ सालदेखि नै कम्युनिस्टले जित्यो भने अधिनायकवाद आउँछ भन्दै आएको बताए।
कांग्रेसको सरकार आएपछि एमालेका तीन हजार कार्यकर्तालाई मुद्दा लगाएको र एक सय २२ जनाको हत्या गरेको पनि उनले आरोप लगाए।
कांग्रेसको अहिलेको विरोध पनि अनावश्यक नभएको बताएका छन्। उनले जनता यस्ता अन्दोलन र अल्झनमा नअल्मलिने उनको भनाइ थियो।
‘यस्ता कुरामा अल्झाउँछौ भनेर कसैले नसोचे हुन्छ, यो सरकार यस्ता कुरामा अल्झिनेवाला छैन’, उनले भने, ‘यो सरकारले राम्ररी बुझेको छ जनताले यसलाई मत दिएको देश बनाउनका लागि, गरिबीबाट उन्मुक्तिका लागि, शिक्षा, स्वास्थ्य, सुरक्षा, सम्मान दिलाउनका लागि हो।’
प्रधानमन्त्री ओलीले आफ्नो पार्टीभित्र विभिन्न तरिकाले खेल्ने प्रयास गरेको भन्दै त्यसको असर पार्टीमा नपर्ने बताएका छन्।










