विष्णुप्रसाद पोखरेल दमक । झापामा दैनिक जसो सवारी दुर्घटनाबढेपछि प्रहरीले सडकमा कडाइ शुरु गरेको छ । झापामा दैनिक रुपमा ५ देखि ६ स्थानमा जाँच गर्नुका साथै स्पिड मापक यन्त्र (राडर गन)को प्रयोग गरेर सवारी साधनहरुलाइ कार्वाही गर्न शुरु गरेको छ । एकपछि अर्को दुर्घटना हुन थालेपछि आर्थिक बर्षको शुरुवातसंगै ट्राफिकले दुर्घटना नियण्त्रण अभियानलाइ आक्रमक रुपमा अघि बढाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राइका अनुसार दुर्घटना न्युनिकरणका लागि २४ घण्टा नै मादमक पदार्थ सेवन(मापसे)चेकजाँच र अधिक गति नियण्त्रणका लागि अभियान शुरु गरिएको हो । मादक पदार्थ सेवन गरेर सवारी कुदाउदा र अधिक गतिले नै बढि मात्रामा सवारी दुर्घटना हुने गरेको पाईएको उहाँको भनाइ रहेको छ ।
राइका अनुसार गएको आर्थिक बर्षमा झापामा १ सय ५ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएकाछन् । यो भन्दा अघिल्लो बर्षको तुलनामा यो अधिक हो । आर्थिक बर्ष २०७३÷०७४ मा ८६ जनाको सवारी दुर्घटनामा परेर ज्यान गएकोमा बढेर २०७४/०७५ मा १ सय ५ पुगेको छ । सडक साघुरो तर सवारी चाप भने अधिक रहेकाले पनि ट्राफिक ब्यवस्थापन चुनौती रहेको राइले बताउनु भयो ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख बिनोदकुमार खतिवडाका अनुसार यसभन्दा अगाडि गति मापन गर्ने यन्त्र नहुदा समस्या भएकोमा अहिले उक्त यन्त्र उपलब्ध भएपछि सडकमा जाँचलाइ कडाइ पारिएको छ । र्याडर गन लिएर सडकमा आफुहरु बसेपछि केहि सचेत हुन थालेको उहाँले बताउनु भयो ।
आफुहरुले कार्वाही गर्ने र जरिवाना गराउने भन्दा पनि दुर्घटना नगराउनका लागि सचेतना फैल्याउने कामहरुलाइ बढि मात्रामा केन्द्रित गर्न थालेको उहाँले जनाउनु भयो । दुर्घटना न्यूनिकरणका लागि सचेतना नै जरुरी रहेको पाएका छौ र यसै अनुसार अभियान चलाउदैछौ, खतिवडाले भन्नुभयो ।










