नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सरकारविरुद्धको घेराबन्दी नियोजित भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले केही कुरामा सरकारको कमजोरी भएपनि चौतर्फी आलोचना हुनु नियोजित षडयन्त्र भएको बताए ।
नियोजित रुपमा सरकारलाई घेराबन्दी गर्न खोजे पनि संसदमा सुविधानजनक बहुमत भएको सरकारलाई कुनै समस्या नभएको उनको तर्क छ । “काम गर्न नदिने र अप्ठ्यारो स्थिती सृजना गर्ने मनसायले कतिपय गतिविधि भइरहेका छन् । राजनीतिक र प्रजातान्त्रिक संस्कार भएको मुलुकलाई यो राम्रो होइन ।” भट्टराईले भने ।
जनताको बहुमत पाएर बनेको सरकारलाई काम गर्न नदिन खोज्नु गलत भएको उनको ठहर छ ।
संविधान र जनताको म्यान्डेटअनुसार सरकारले काम गर्न खोजेको उनले बताए । चुनावी घोषणापत्रलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अगाडि बढे पनि चुनावमा पराजित भएको कांग्रेस छटपटिएर सरकारलाई काम गर्न नदिने लक्ष्यका साथ अघि बढेको उनको आरोप छ ।
“सरकारलाई काम गर्न नदिने, अप्ठ्यारो बनाउने, अनेक बहानाबाजी खोज्ने, हल्ला गर्ने, चिच्याउने, कराउने रुने जस्ता अनेक बहाना कांग्रेसले बनाइरहेको छ । कांग्रेसको कार्ड बनेर केही शक्ति र व्यक्तिहरुले सडकमा तमासा देखाएका हुन् ।” भट्टराईले भने ।
सरकारको पनि केही कमजोरी हुन सक्ने भन्दै उनले त्यस्ता गलत कामलाई सच्याइने बताए । “गल्ती नगर्ने मान्छे हुँदैन । गलत भएका कुरालाई सच्याउनुपर्छ । गल्ती नसच्याउने हो भने त्यो मान्छे सही हुँदैन । हामी गल्ती सच्याउँछौँ ।” भट्टराईले भने ।
अन्जानबस काम गर्ने क्रममा भएका गल्ती सच्याउनुपर्नेमा उनले जोड दिए ।
कानुनमन्त्री शेरबहादुर तामाङले नियतबस नराम्रो कुरा नबोलेको तर बोल्दा गल्ती भएको भट्टराईले बताए । “उहाँले बोल्दा होस पुर्याउनुभएन भन्ने मलाई लाग्छ । कानुनमन्त्रीले जे पनि बोल्दा हुँदैन ।” उनले भने ।
-रिपोटर्स नेपाल बाट









