दमक । झापाको गौरीगन्जमा रहेको इलाका प्रशासन कार्यालय दमकका लागि स्थानीयहरुले सडकसगं जोडिएको २ कठ्ठा १० धुर जग्गा प्रदान गरेकाछन् । कार्यालयको भवन बनाउनका लागि स्थानीय छ जना जग्गादाताहरु मिलेर कार्यायका लागि जग्गा प्रदान गरेको इलाका प्रशासन कार्यालय गौरीगन्जका प्रमुख यज्ञप्रसाद आचार्यले बताउनु भयो ।
वडा नं. ३ का वडाध्यक्ष मखना महतो, पुर्णकुमार अग्रवाल, अशोक अग्रवाल, महेश कार्की, सानुराजा श्रेष्ठ र केशवकुमार अग्रवालले संयुक्त रुपमा जग्गा उपलब्ध गराउनु भएको बताईएको छ । मंगलवार एक कार्यक्रमबीच पुर्व साँसद दीपक कार्कीको उपस्थितिमा जग्गादाताहरुले जग्गाको धनीपुर्जा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाइ बुझाउनु भएको छ ।
सो अवसरमा पुर्व साँसद कार्कीले यस क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थपना गर्न धेरै चुनौती भएको बताउदै अहिले जग्गाको ब्यवस्थापन समेत भएको भन्दै खुसि प्रकट गर्नु भयो । उहाँले यहाँका बासिन्दाहरुलाइ छिटो छरितो सेवा प्रदान गर्नका लागि आग्रह गर्दै अब तत्कालै कार्यालय भवन बनाउनका लागि आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धतता जनाउनु भयो ।
प्रमुख जिल्ला अधिकारी दाहालले सेवा प्रवाहमा जनतालाइ कुनै दुख नदिन निर्देशन दिनु भयो । उहाँले आफ्नै भवनमा कार्यालय हुँदा सेवा प्रवाहमा सहजता हुने जनाउदै सरकारलाइ जग्गा प्रदान गर्नेहरुप्रति आभार प्रकट गर्नु भयो । गाँउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा जग्गादाताहरुलाइ जिल्ला प्रशासन कार्यालय झापाले धन्यवादपत्र समेत प्रदान गरेको थियो । स्थानीय मुल्याङ्कन अनुसार ५० लाख बराबरको जग्गा भएको दाबी गरिएको छ ।










