विष्णुप्रसाद पोखरेल दमक । झापाको दक्षिणि सिमावर्ती गाँउपालिका गौरीगन्जमा फिल्मि शैलीमा एक भारतीय युवाले एक बालकलाइ बन्धक बनाइ हत्या गर्न लाग्दा चलाखी पुर्वक प्रहरीले बचाएको छ । बचाउने क्रममा बन्धक बनाइएका बालक सहित प्रहरी समेत घाइते भएको बताईएको छ ।

गौरीगन्जकै एक युवतीसंग लामो समयदेखि प्रेम सम्बन्ध रहेको र ति युवती आफुलाइ ल्याइदिनु पर्ने भन्दै भारत किसनगञ्ज जिल्ला डिगलबैक घर भएका २५ बर्षिय ओमप्रसाद सिंहले गौरीगन्ज ३ निवासी सोमिलाल ताजपुरीयाको घर आइ उहाँका छोरा १० बर्षिय सुजन ताजपुरीयालाइ कोठामा बन्धक बनाएर ‘बार्गेनिङ’ गरेको प्रहरीको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धारिलो हतियार सहित कोठामा बन्धक बनाएको अवस्थामा प्रहरीले ढोका फोरेर उद्धार गर्ने क्रममा बालक ताजपुरीयाको घाँटी र हातमा चोट लागेको छ । घाइते बालकको घाँटीमा ७ वटा, दाहिने हातमा ५ वटा र देब्रे हातमा २ वटा टाँका लगाईएको र अहिले दमकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगन्जका निमित्त प्रमुख राजु निरौलाले बताउनु भयो ।

उद्धारको क्रममा शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक शशि भारतीको हातमा समेत धारिलो हतियारले चोट पुगेको जनाइन्छ । निरौलाका अनुसार काठको टाँडे घरको माथिल्लो तलामा आफुले मनपराएकी युवती नल्याए बालकलाइ हत्या गर्ने भन्दै बुधबार साँझ ६ बजे ताजपुरीयाको घाँटीमा धारिलो हतियार राखेर ‘बार्गेनिङ’ गर्दै कोठामा चुकुल लगाएपछि तनाव सिर्जना भएको थियो ।

शशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयसंग तत्कालै सहयोग मागेर उद्धारको रणनीति बनाइ युवती समेत ल्याएर कोठा फोरी सफल रुपमा उद्धार गर्न सफल भइएको निरौलाले बताउनु भयो । श्रोतका अनुसार शसस्त्र प्रहरीले उद्धारका लागि गोली चलाउने आदेश समेत मागेर त्यसको समेत तयारी गरेको थियो । हामी गोली चलाउन समेत तयारी अवस्थामा रहेका थियौ, तर हामीले घाइते भएर भएपनि हतियार खोस्न सफल भएका कारण गोली चलाउनु परेन, प्रहरी श्रोतले भन्यो ।

प्रहरीले घटनामा संलग्न सिंहलाइ पक्राउ गरेको छ । सिंह बुधबार बिहान १० बजेदेखि नै गौरीगन्जमा रहेको र मादक पदार्थ सेवन गरेको समेत खुलेको इलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ । आफुले मनपराएकी युवतीलाइ बोलाउन उक्त बालकलाइ बारम्बार सिंहले प्रयोग गरेको र युवती आउन नमानेपछि यो हर्कत गरेको प्रहरीको भनाइ छ । यसभन्दा अगाडि भेटगर्दा पनि बालकलाइ प्रयोग गर्ने गरेको पाईएको छ, निरौलाले भन्नुभयो ।

पछिल्लो केहि समययता दुइजनाको प्रेम सम्बन्ध बिग्रिएका कारण पक्राउ परेका सिंहले युवतीलाई बोलाएर ज्यान मार्ने र आफु समेत मर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी श्रोतको भनाइ रहेको छ । धारिलो हतियार किनेर आएर युवतीलाइ भेटन बोलाएको पाईएकाले हत्या गर्ने नियत भएको भन्ने देखिन्छ, प्रहरी श्रोतले भन्यो । प्रहरीले बालकको उद्धार गरेपछि यस घटनामा संलग्न युवा सिंहमाथि आक्रमण गरेपछि प्रहरीलाइ जोगाउन समस्या परेको थियो । आक्रोशित स्थानीयले ढुंगामुढा गरेका थिए ।

घटनाको प्रत्यक्षदर्शी समेत रहनु भएका वडा नं. ३ कै वडाध्यक्ष मखना महतोले ठुलो घटनाहुनबाट जोगिएको बताउनु भयो । पक्राउ परेका सिंह प्रेममा पागल जस्तै भएको र उसले हत्याको योजनाका साथ आएको पाइएको उहाँको भनाइ छ । त्यसले युवती, बालकलाइ मारेर आफु पनि मर्न सक्थ्यो, ठुलो घटनाहुनबाट जोगिएको छ, महतोले भन्नुभयो ।

खुला सिमनाका कारण उक्त युवा बिगत ४ बर्ष अघिदेखि यहाँ आउनेजाउने गरेको समेत पाएको र खासै कसैले पनि वास्ता नगर्ने गरेको समेत आफुले बुझेको उहाँले जनाउनु भयो ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार घटनापछि सिमा र गौरीगन्जमा कडा सुरक्षा ब्यवस्था मिलाइएको छ । प्रहरीले खबर पाउनसाथ तत्काल पुगेको र चलाखी पुर्वक उद्धार योजना बनाइएका कारण मानवीय क्षति नभएको उहाँको भनाइ छ । पक्राउ परेका सिंहलाइ अपहरण, शरिर बन्धक र ज्यानमार्ने उद्योग मुद्धा दर्ता गरिएको गिरीले बताउनु भएको छ ।