काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी ओलीले सरकारविरुद्ध देशी, विदेशी षड्यन्त्र भईरहेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले डलर, युरो पठाएर नेपाललाई ध्वस्त पार्ने षड्यन्त्र भईरहेको बताएका हुन् ।
उनले सरकारले अबैधानिक ढंगबाट हुने आर्थिक कारोबार रोक्ने र कानुन सम्मत अघि बढने पनि स्पष्ट पारे । नेपाल राष्ट्रिय इन्जिनियर संगठन र प्रोग्रेसिब इन्जिनियर प्रोफेशनल एशोसिएशनबीचको एकता घोषणा कार्यक्रममा बोल्दै उनले सरकारलाई नियन्त्रणकारीको आरोप लगाएर हुने कुनै पनि षड्यन्त्रलाई सरकारले सफल हुन नदिने दृढता पनि व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ आयाम दिन तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरिएको दावी गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले चुनाव जित्न र मुलुकलाई समृद्ध बनाउने योजनामा मात्रै दुई पार्टीबीचको एकतालाई नबुझ्न पनि आग्रह गरे । अध्यक्ष प्रचण्डले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि आग्रह गरे ।










