विष्णुप्रसाद पोखरेल दमक । झापाको रतुवा माइबृक्षरोपण आयोजना भित्रको अतिक्रमण बल प्रयोग गरेर हटाउन शुरु गरिएको छ । स्थानीय सरोकारवालहरुसंगको समन्वयमा मंगलवारदेखि अतिक्रमण हटाउन शुरु गरिएको जनाईएको छ । दिनप्रतिदिन बन क्षेत्र अतिक्रमण हुन थालेपछि अतिक्रमण हटाउन आयोजनाले चासो दिएको बताईन्छ । प्रारम्भिक चरणमा आइतवार बिहान डोजर प्रयोग गरेर शिवसतासी नगरपालिकाको झिलझिले बजार उत्तर रहेको अब्यवस्थितको सुँगुरका खोरहरु भत्काईएको आयोजना प्रमुख खेम विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार लामो समयदेखि यहाँ अब्यवस्थित रुपमा जंगल अतिक्रमण गरेर बंगुर पालनका लागि बनाईएका टहराहरु हटाउन नमानेपछि इलाका प्रहरी कार्यालय झिलझिले, इलाका बन कार्यालय केर्खा लगायतका सहयोगमा अतिक्रमण हटाईएको समेत उहाँको भनाइ रहेको छ । आयोजना प्रमुख विश्वकर्माका आयोजना क्षेत्रमा राजमार्गको दक्षिण तर्फ बसोबास गर्ने समुदायहरुबाट सुँगुर खोर निर्माण गरिए आयोजनाको करिब ४.७ हेक्टर क्षेत्रलाई सुँगुरपालनको लागि प्रयोगमा ल्याएको पाईएको छ । यसले राजमार्ग वरपरको क्षेत्र दुर्घन्धीत वनेको र आयोजनालाइ समेत नोक्सान पुग्दै आएको थियो । सुँगुरका खोरहरु हटाने अभियान शुरु भएको छ र अब केहि दिनभित्र आयोजना सुंगुरको खोरमुक्त हुनेछ, विश्वकर्माले बताउनु भयो । आयोजनाले यसैसाता सुँगुर हटाउनका लागि सहयोग गर्न राजनीतिक दल र सरोकारवाला निकायहरुसंग आग्रह गरेको थियो । शुरुवातमा हटाउनका लागि अनुरोध गर्ने र नमानेमा बल प्रयोग गर्ने सहमति भएको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कैलाश राइले बताउनु भयो । उहाँका अनुसार बन कार्यालय र आयोजनाको आग्रहमा यहाँ २२ वटा सुंगुरका खोरहरु भत्काईएको हो । जथाभावी रुपमा रहेका सुँगुर खोरका कारण दुर्घटना समेत हुदै आएको थियो । प्रहरीका अनुसार यहाँ रहेका सँुगुरहरु त्यसै छाडिने गरेकाले सडकमा आउने र वारपार गर्ने गरेकाले दुर्घटनाको जोखिम समेत रहेको थियो । बर्षौदेखि यसलाइ हटाउन खोजिएपनि नसकिएको अवस्थामा मंगलवार भने डोजर नै लगाईएको जनाइन्छ । राजनीतिक तथा सामाजिक पहुच देखाउदै रतुवामाई वृक्षरोपण आयोजनाको क्षेत्र अतिक्रमणको चौतर्फी चापमा परेको बताइदै आएको छ । आयोजना प्रमुख विश्वकर्माका अनुसार संस्थागत तथा व्यक्तिगत तहबाट लामो समयदेखि वन क्षेत्रको अतिक्रमण भएको देखिएको छ । आयोजनाको दुधे क्षेत्रमा वडा कार्यालय, जनजाति महासंघ, सामुदायिक वन उपभोक्ता समुह, खानेपानी उपभोक्ता समिति, लगायतका निकायहरुबाट वन क्षेत्रको अतिक्रमण भएको छ । रतुवामाई वृक्षारोपण आयोजना पूर्वमा कन्काइमाई नदी, पश्चिममा रतुवा खोला, उत्तरमा इलाम जिल्लाको चुलाचुली गउँपालिका र माई नगरपालिका, दक्षिणमा झापा जिल्लाको शिवशताक्षी नगरपालिका, कमल गाउँपालिका र दमक नगरपालिकाको पूर्व पश्चिम लोकमार्गको चारकिल्ला भित्रको ३ हजार १ सय २५.३१ हेक्टरमा फैलिएको छ ।गोरखापत्र दैनिकबाट