काठमाडौं, १४ साउन । नेपाली एक छात्राले अमेरिकामा अन्तर्राष्ट्रियस्तरको इमाजिन कप– २०१८ अन्तर्गत ‘आर्टिफिसियल इन्टेलिजेन्स’ विधामा पहिलो पुरस्कार हात पारेकी छिन् । विभिन्न देशका ४८ टिमका सहभागीलाई पछि पार्दै उनले यो पुरस्कार हात पारेकी हुन् । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरमा तेस्रो वर्षमा अध्ययनरत एदा रिजालले यो सफलता पाएकी हुन् ।
उनीसहित अन्य दुई साथीको टिमले इमाजिन कप २०१८ अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा पहिलो भए बापत १५ हजार अमेरिकी डलर समेत पाएका छन् ।
नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठका अनुसार एदालेले प्रतियोगितामा नेपालको मात्र नभई दक्षिण पूर्व एसिया क्षेत्रको नै प्रतिनिधित्व गरेको जानकारी दिएका छन् । एदा र उनका साथीहरुको टिमले मलेसियामा भएको क्षेत्रीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि विश्वस्तरको उक्त प्रतियोगितामा भाग लिने मौका पाएका थिए ।










