बिष्णुप्रसाद पोखरेल दमक । झापाको गौरादह नगरपालिकाले ४ बर्ष भित्रमा नगरपालिकामा एउटा पनि फुसको छानो भएको घर नहुने बताएको छ । यसका लागि यो बर्षदेखि कार्य प्रारम्भ गरेको र ४ बर्षमा सबैको घरमा टिनको छानो हुने दाबी नगरपालिकाले गरेको हो ।
आफ्नो नगरभित्रका फुसका छाना भएका घरहरुको संख्या याकिन तथा सर्वेक्षण नै नगरि यो घोषणा गरेको छ । आदिबासी समुदाय बाहुल्यता रहेको यस नगरपालिकाभित्र अधिकाँश फुसको छानाहरु रहेका घरहरु रहेको बताईएको छ । नगर प्रमुख रोहितकुमार शाहले लक्षित समुदायका बिपन्नहरुलाइ जस्तापाता उपलब्ध गराइने बताउनु भयो । यद्यपि यसको कार्यबिधि नबनाइएकाले कसरी उपलब्ध गराउने भन्नेमा अन्योल रहेको बताइदै आएको छ ।
आउदो छ महिनाभित्रमा नगर प्रोफाइल तयार हुने र यसबाट फुसको छानो भएको एवं गरिबीको रेखामुनी रहेका नगरबासीको पहिचान हुने शाहको भनाइ रहेको छ । अहिले भने नगरभित्र फुसको छानो भएको घरसंख्या र विवरण आफुहरुसंग नभएको भएपनि कार्यक्रम भने राखिएको उहाँले जनाउनु भयो । हो हामीसंग तथ्याङ्क छैन तर बिपन्न समुदायहरुको पहिचान गर्दै जस्तापाता दिनेछौ, शाहले भन्नुभयो ।
नगरपालिकाले दोश्रो नगरसभाबाट लक्षित समुहलाइ टिनको छाना भित्र राख्नका लागि चालु आर्थिक बर्षका लागि ३० लाख रुपिया बिनियोजन गरिएको वडा नं. १ का वडाध्यक्ष समेत रहनु भएका नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताउनु भयो । यो बर्ष कम्तिमा पनि २ सय वटा घरलाइ २ बन्डलको दरले जस्तापाता उपलब्ध गराइने लक्ष्य रहेको उहाँको भनाइ रहेको छ । नगरपालिकाले आफ्नो महत्वपुर्ण र प्रमुख योजनाका साथ यो निर्णय लिइएको हो, भण्डारीले भन्नुभयो ।
अघिल्लो आर्थिक बर्षमा जनप्रतिनिधिहरुबीच नै आपसी बिबाद र मतभेदका कारण नगरपालिकाले ठोस काम गर्न नसेकेको आरोप लागिरहेको अवस्थामा शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै नगरपालिकाले अब कामले नयाँ गति लिने नगर प्रमुख शाहले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाको गुरुयोजना निर्माणका लागि काम शुरु भएको, नगर चक्रपथको गुरुयोजना बनाउनका लागि जिम्मा दिइ सकिएको बताउनु भयो ।
चक्रपथ कति किलोमिटर बन्ने र कस्तो बन्ने भन्नेमा समेत नगर प्रमुख सहित जनप्रतिनिधिहरु नै अन्योलमा रहेकाछन् । शाहका अनुसार ४ बर्षभित्रमा चक्रपथ निर्माण गरिसक्ने उदेश्यका साथ बजेट बिनियोजन गरिएको छ । चक्रपथको गुरुयोजना बनाउन ठेक्का दिइसकिएकाले त्यो प्रतिबेदन आउनसाथ काम अघि बढ्छ, अहिले नै यस बिषयमा केहि भन्न सक्ने अवस्था छैन । नगरपालिकाले गुरुयोजना निर्माणलाइ महत्व दिइएको पाईएको छ ।
नगरपालिकाका प्रवक्ता भण्डारीले नगरपालिकाको बिषयमा भ्रम छर्ने काम भएको बताउदै बिबादहरु नरहेको बताउनु भयो । नगरपालिकाले काम गर्न नसकेर १२ करोड रुपिया फिर्ता गएको भन्ने पनि नबुझेर आरोप लगाईएको उहाँको भनाइ थियो । सामाजिक सुरक्षा भत्ता र शिक्षकका लागि आउनु पर्ने तलव बढि भएका कारण त्यो फिर्ता गएको भन्दै उहाँले त्यसलाइ गलत रुपमा ब्याख्या गरिएको दाबी गर्नु भयो ।
गतवर्ष ८२ करोड ७३ लाख ६१ हजार ९४ रुपैयाको वजेट सार्वजनिक गरिएकोमा यस वर्ष ७४ करोड ९८ लाख ९९ हजारको बजेट नगरपालिकाले सार्वजनिक गरेको हो । पहिलो नगरसभाबाट सार्वजनिक गरिएको घाटा बजेटले नगरपालिका र जनप्रतिनिधिको साखमा घाटा पुगेको जनाउदै दोश्रो नगरसभामार्फत सार्वजनिक गरिएको बजेट पहिलाभन्दा कम रहेको बताइन्छ ।










