विष्णुप्रसाद पोखरेल दमक । झापाको दमक नगरपालिकाले नगरभित्र रहेका संघसंस्थाहरुलाइ आफ्नो कार्ययोजना तथा कार्यक्रमहरु बारे अनिवार्य रुपमा नगरपालिकालाइ जानकारी दिनका लागि निर्देशन गरेको छ । कार्यक्रमको प्रभावकारिता र एकद्वार प्रणालीबाट कार्यक्रम गर्दा अपेक्षित परिणाम आउने भन्दै नगरपालिकाले संघसंस्थाहरुलाइ यस्तो निर्देशन दिएको बताईएको छ ।
दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीका अनुसार नगरभित्र लायन्स, रोटरी, जेसिज लगायतका संघसंस्थाहरुले काम गर्दै आएको जनाउदै यि लगायतका सबै संघसंस्थाहरुलाइ नगरपालिकामा बोलाएर नै निर्देशन दिइएको जनाउनु भयो । बालबालिका, महिला, आदिबासी जनजाती लगायतका बिभिन्न क्षेत्रमा काम गर्दा एकै प्रकृतीको कार्यक्रम नहोस भनेर सामुहिक भावानाका साथ काम गर्न समेत यस्तो निर्देशन दिइएको अधिकारीले स्पष्ट पार्नु भयो ।
स्थानीय संघसंस्थाहरुले सडक बालबालिका, बेसहारा रहेका जेष्ठ नागरिक, जोखिममा परेका महिला तथा बालबालिकाहरुलाइ उद्धार एवं ब्यवस्थापन समेत सहयोग गर्नु पर्ने बताउदै यसका लागि आग्रह गरिएको अधिकारीको भनाइ रहेको छ । संघसंस्थाहरु सकारत्मक र काम गर्न उत्सुक भएको देखेका छौ, उपप्रमुख अधिकारीले भन्नुभयो । नगरपालिकाले पहिलो पटक यसरी संघसंस्थाहरुको कार्यक्रम एवं योजना पेस गर्न भनेको बताइन्छ ।
नगरपालिकाको निर्देशन र समन्वयलाइ आफुहरुले सकारत्मक रुपमा लिएको लायन्स क्लव अफ स्र्टन स्टारका अध्यक्ष बिमल शर्माले बताउनु भयो । आफुहरुले काम गरिरहेको तर नगरपालिकासंग समन्वय तथा जानकारी भन्दा पनि आफ्नै तरिकाले गर्दै आएको जनाउदै अब कार्ययोजना पेस गर्ने जनाउनु भयो । यो नगरपालिकाको सकारत्मक कदम हो, यसलाइ हामी समर्थन गर्छौ, शर्माले भन्नुभयो ।
दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीले स्थानीय सरकारको निर्देशनलाइ पालना गर्ने जनाउदै संघसंस्थाहरुको कामलाइ प्रभावकारी बनाउन खोज्नु उत्तम भएको बताउनु भयो । आफुहरु नगरपालिकाको समन्वयमा काम गर्न तयार रहेको बताउदै यसले संघसंस्थाहरुलाइ सक्रिय बनाउन समेत टेवा पुग्ने खत्रीको भनाइ छ । हामी कार्यक्रमहरु र योजना नगरपालिकालाइ बुझाएर अघि बढ्छौ, खत्रीले भन्नुभयो ।
झापाको दमकमा १ सयभन्दा बढि संघसंस्थाहरु रहेको दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बरराज बरालले बताउनु भयो । उहाँका अनुसार आँशिक रुपमा नगरपालिकासंग समन्वय गरेर काम गरेपनि ठोस रुपमा भएको थिएन । अब भदौ १० गतेसम्ममा सामाजिक संघसंस्थाहरुले सबै कार्यक्रमहरु नगरपालिकालाइ बुझाउनु पर्ने बरालले उल्लेख गर्नु भयो ।
अन्तराष्ट्रिय संघसस्थालाइ पनि निर्देशन यसैबीच दमकमा रहेको काम गरिरहेका अन्तराष्ट्रिय संघसंस्थाहरुलाइ समेत नगरपालिकाले आफ्ना कार्यक्रमहरु नगरपालिकालाइ जानकारी गराउन तथा समन्वय गर्नका लागि आग्रह गरेको छ । शरणार्थी तथा शरणार्थी प्रभावित क्षेत्रमा अन्तराष्ट्रिय संघसंस्थाहरुले गर्दै आएका गतिबिधिहरु अपरादर्शी रहेको बताइदै आएको छ । पहिलो पटक स्थानीय सरकारले यसमा पनि चासो दिएको छ । नगरपालिका उपप्रमुख अधिकारीका अनुसार बिभिन्न चरणका बैठक र छलफलमा कार्यक्रमहरुको बिषयमा अनिवार्य जानकारी गराउनु भनिएको छ । स्थानीय सरकारप्रति यहाँ रहेर काम गर्ने सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसस्थाहरु जवाफदेखि बन्नुपर्छ, अधिकारीले भन्नुभयो । आफुहरुले नगरको सम्बृद्धिका लागि यो कदम चालेको पनि उहाँले बताउनु भयो ।










