काठमाडौं– सशस्त्र प्रहरीले ३ महिनायता विपद व्यवस्थापनका लागि ७ हजार ७ सय १९ जना जनशक्ति परिचालन गरिएको जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सशस्त्र प्रहरी बलका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले सो कुराको जानकारी दिएका हुन् ।
उनले देशका विभिन्न भागमा रहेका ब्यारेकमा गरी ३ हजार जनशक्ति कुनै पनि बेला परिचालन हुने गरी व्यवस्था गरिएको समेत स्पष्ट पारे । देशका विभिन्न भागमा वर्षासँगै बाढी, पहिरो र डुबानको समस्या बढदै गइरहेका बेला सशस्त्र प्रहरीले करिव ३ हजार जनशक्तिलाई तत्काल देशभर परिचालन गर्ने व्यवस्था गरिएको प्रवक्ता पाण्डेले बताए ।
उनले प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रदान गर्न दैनिक रुपमा करिव ९ हजारको जनशक्ति परिचालन गरिएको पनि जानकारी दिए । प्रवक्ता पाण्डेले आपतविपदमा उद्दार कार्यका लागि बनाइएको टोलीलाई चौविसै घण्टा मूल सडकमै तैनाथ गरिएको पनि स्पष्ट पारे ।
सशस्त्र प्रहरी बलले यसै महिनाबाट सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण २०७५ स्वीकृत भई लागू गरिएको पनि जानकारी गराइएको छ । प्रवक्ता पाण्डेले सेवा प्रवाह र सुशासन कायम राख्न सशष्त्र प्रहरी बेलको उचित व्यवस्था गरिएको पनि स्पष्ट पारे । सशस्त्र प्रहरीले सिधै सम्पर्क गर्न हटलाईन सेवा ४२८७३४७ को पनि व्यवस्था गरेको छ ।
त्यस्तै उक्त प्रहरी संगठनले हाल विद्यमान ५ वटा बाहिनीहरुको संख्या वृद्धि गरी ७ प्रदेश र उपत्यकामा गरी ८ वटा बाहिनी रहने व्यवस्था पनि गरेको छ । त्यसैगरी सरुवा प्रणालीको नीति बनाई सशस्त्र प्रहरी अधिकृतहरुको सरुवा गर्ने व्यवस्था पनि गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए । रातो पाटी बाट










