झापा । घुस नखाई कुनै काम नहुने झापाको विर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारी घुस लिदालिदै रंगेहात फेला परेका छन् । दमकस्थीत ग्लोबल अटो सेन्टर र प्यासिफक इन्टरप्राइजेजले नामसारी र ट्रलि जडान गर्न लगेका ४ वटा ट्रयाक्टरमा लेखाशाखाकी लेखा अधिकृत कल्पना न्यौपानेले १८ हजार रुपैयाँ घुस रकम लिएका हुन् ।

ट्रयाक्टर सोरुम सञ्चालन गर्दै आएको सेन्टर र इन्टरप्राइजेजसँग ट्रयाक्टर नामसारी र ट्रलि जडान गर्न यातायातका कर्मचारीले रकम माग्ने गरेको इन्टरप्राइजेजका सञ्चालक असोक कुमार थापाले हामीलाई गुनासो गरेका थिए । यसपछि झापास्थीत हाम्रा टिभी जर्नलिष्ट राजु पौडेलले एक सातादेखि कार्यालयको निगरानी गरेका थिए । ९ महिनादेखि काम नभएको ४ वटा ट्याक्टरको नामसारी गरी ट्रली जोड्ने काम मंगलबार प्राविधिक शाखाका कर्मचारीलाई ४ हजार र लेखा अधिकृत कल्पना न्यौपानेलाई १८ हजार दिएपछि बल्ल भयो । हामीले घुस रकम लेखाशाखाका कर्मचारीलाई दिनुपूर्व रकमको भिडियो खिच्यौं । इन्टरप्राइजेजका कर्मचारी रुबिना थापाले लेखा अधिकृत कल्पना न्यौपानेलाई घुसबापत १८ हजार रुपैयाँ दिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लगत्तै हामी लेखा शाखामा यतिका रकम किन लिएको भन्दै पु¥यौं । त्यहाँ पुग्दा उनले घुसबापत लिएको रकम गन्दै थिइन् र हतारहतार टेबलमा पैसा राखिन् । न्यौपानेले १८ हजार रुपैयाँ लिएको भएपनि एक हजार रुपैयाँ लेखा अधिकृत नारायणप्रसाद दुलालले लिएको बताइन् । हामीले घुस असुलीका बारेमा प्रश्न गर्न थालेपछि दुलाल शौचालय जाने भन्दै कार्यालयबाट बाहिरीए ।

मेची अन्चलमा रहेका करिब ४ हजारको हाराहारीको ट्याक्टरमा ट्रलि जडान गर्दा यातायातको कर्मचारीले रकम असुल्दै आएका छन् ।यस विषयमा यस अघि नै कार्यालय प्रमुखलाई जानकारी गराएपनि मिलाएर गर्नुपर्ने भन्दै पन्छिने गरेकाले कार्यालय प्रमुखको समेत संलग्नता रहेको आशंका गरिएको छ । न्युज २४ टिभीबाट