बिष्णुप्रसाद पोखरेल दमक । बुबाको ७ बर्षअघि नै मृत्यु भएको र आमा समेत अर्कैसंग विवाह गरेर गएपछि लामो समयदेखि दमकको सडकमा मागेर खाँदै सडकमा नै रात बिताउदै आएका एक सडक बालकले अब पढ्न पाउने भएकाछन् । गत मंगलवार दमकबाट उद्धार गरिएका ७ बर्षिय विवेक ऋषिदेबलाइ आवसिय सुविधा सहित गौरादहमा पढ्न पाउने भएकाहुन् ।
लायन्स क्लव अफ दमक इस्टर्न लाइनका अध्यक्ष बिमल शर्मा र लायन्स अगुवा रुद्रप्रसाद गौतमले सडकबाट बालकलाइ ल्याएर गौरादहको वडा नं. ३ को वडाकार्यालय माफृत पढ्ने ब्यवस्था मिलाईएको बताईएको छ ।
बलबहादुर ऋषिदेबको ७ बर्ष अघि छारे रोगका कारण निधन भएको र आमा सिता मुर्मु ऋषिदेब बुबा बितेको एकमहिना नबित्दै अर्कैसंग गएपछि बालक बेसहारा बनेको पाईएको छ ।
उद्धार गरिएपछि बालक विवेकले आफ्नो हजुरआमा गौरादहमा बसोबास रहेको जनाएपछि खोजेर बालकलाइ त्यहाँ लगिएको थियो । अध्यक्ष शर्माका अनुसार अर्काको घरमा पछाडि गोठमा हजुरआमा बस्दै आएको देखेपछि गौरादह वडा नं. ३ का वडाध्यक्ष गजेन्द्र घिमिरेलाइ बच्चाको पठनपाठन सहितको बिषयमा छलफल गरिएको थियो । तत्कालै वडाध्यक्ष घिमिरेले पठनपाठनका लागि आवश्यक सहयोग गर्न समन्वय गर्ने बताउनु भएको थियो ।
विवेककी हजुरआमा सरस्वती ऋषिदेबले समेत रुदै आफु पढाउन नसक्ने बताएपछि वडाध्यक्ष घिमिरे वडा कार्यालयले पठनपाठनको जिम्मा लिने बताउनु भएको थियो ।
वडाध्यक्ष घिमिरेका अनुसार गौरादह ३ मा नै रहेको हिमालयन ईन्टरनेष्नल एजुकेशन फाउण्डेसनले निशुल्क अध्ययनको व्यवास्था गरिदिएको बताउनु भयो । आवसिय सुविधा सहित बिद्यालयले राख्ने प्रतिबद्धता जनाएको र बालकलाइ बिद्यालय भर्ना गरिएको समेत उहाँले जानकारी दिनु भयो ।
बिद्यालयका संस्थापक मदनकुमार अधिकारीले सडकमा भेटिएका अति बिपन्न विवेकको सम्पूर्ण पठनपाठन र खानपीनका सहित आवसिय सुविधा उपलब्ध गराउनु बताउनु भयो ।
बालकको बस्तुस्थिति बुझ्दा र वडा कार्यालयको आग्रहमा आफुले यो जिम्मेवारी लिएको अधिकारीको भनाइ छ । कम्तिमा पनि माध्यमिक तहसम्म पठनपाठनको जिम्मेवारी म लिनेछु, आवसिय सुविधामा राखिसकेको छु, अधिकारीले भन्नुभयो ।










