सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको आठवटा कलेजको सम्बन्धन खारेज गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले मन्त्रिपरिषद् बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको आठ वटा कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सम्बन्धन दिने कार्य स्थगन गर्न पनि सबै विश्वविद्यालयलाई निर्देशन दिएको छ। अर्को निर्णय नभएसम्मका लागि सबै विश्वविद्यालयलाई कलेजको सम्बन्धन प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको पनि सचिव बरालले बताए।
सरकारले जनशक्ति प्रक्षेपण, विश्वविद्यालयको वर्गीकरण र उच्चस्तरीय शिक्षा आयोगको कामलाई प्रभावित हुन नदिन पनि विश्वविद्यालयलाई कलेजहरूको सम्बन्धन नदिने निर्णय गर्नुपरेको पनि स्पष्ट पारेको छ। सचिव बरालले नयाँ शैक्षिक रणनीति बनाउनुपर्ने भएकाले तत्काल कलेजहरूलाई सम्बन्धन नदिने निर्णय गरिएको स्पष्ट पारे।
सरकारले जनसंख्याको आधारमा सबै प्रदेशमा कलेजहरूको उचित व्यवस्थापन गर्न पनि आन्तरिक गृहकार्य सुरु गरेको छ। सचिव बरालले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले मुलुकको आवश्यकताअनुसार नयाँ शैक्षिक रणनीति बनाउन पनि सुरु गरेको जानकारी दिए।
टिभी अन्नपूर्ण बाट









