उच्च अदालत जनकपुरले असई थमन विक हत्याका अभियुक्तलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीका नाममा मंगलबार परमादेश जारी गरेको छ । सो परमादेशसँगै  प्रदेश नम्बर २ को राज्यमन्त्री रहेका अभिराम शर्मा पक्राउ पर्ने छन्।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको इजलासले ‘कानुनको धज्जी नउडाउन’ प्रहरीलाई सचेतसमेत गराएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सशस्त्र प्रहरीका असई विकको हत्या अभियोग लागेका  शर्मा प्रदेश २ को सामाजिक विकास राज्यमन्त्री छन् । अर्का अभियुक्त रामशंकर मिश्र (शंकर शाही) जलेश्वर नगरपालिकाका मेयर छन् । शर्मा र मिश्र राजपाबाट निर्वाचित भएका हुन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य कौशल राय मुख्य अभियुक्त छन् । उनी संघीय समाजवादी फोरमका नेता हुन्। तेस्रो मधेस आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत विकको ०७२ भदौ २५ गते हत्या भएको थियो । आन्दोलनकारीको आक्रमणमा गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

हत्यामा २८ जनालाई विपक्षी बनाइएको छ । तीमध्ये महोत्तरीका सञ्जय साह र प्रदीप साह पुर्पक्षका लागि कारागार चलान भइसकेका छन । अर्का अभियुक्त मोहन ठाकुर तारिखमा छन् । उच्च अदालत, जनकपुरका रजिस्ट्रार मानबहादुर कार्कीले परमादेशको फैसलासहित बाँकी सबै अभियुक्त पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिने बताए ।

राजनीतिक दबाबको भरमा प्रहरीले आफ्नै कर्मचारीको हत्या गर्ने नेताहरुलाई समेत पक्राउ गरेको छैन। दृष्टि न्यूज बाट