विष्णुप्रसाद पोखरेल दमक । झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने चारकोशे झाडिलाइ पर्यटकीय स्थल बनाउने घोषणा गरेको छ । गाँउपालिकाले ‘होमस्टे’ सहितको पर्यटकीय स्थल बनाउने कार्यक्रम सार्वजनिक गरेको हो । यसभन्दा अगाडि नै गाँउपालिकाले जलथल जंगल र आवादीको सीमानामा पर्यटकीय सडक विस्तारका लागि २७ लाख र हात्ती आतंक न्यूनीकरणका लागि सौर्य तारवार गर्न १८ लाख बजेट विनियोजन गरेर काम समेत शुरु गरेको थियो ।

सोमबार एक सार्वजनिक कार्यक्रमबीच गाँउपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिकरण कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनले पर्यटन मार्फत समृद्धि प्राप्तिका लागि ‘फेरि पनि घुम्न जाउँ,हल्दीबारी गाउँ’ भन्ने अभियानको थालनी गरिने बताउनु भएको हो । जंगली हात्तीका कारण सधै समस्याको रुपमा हेरिएको जंगललाइ अब पर्यटकीय क्षेत्र बनाउन लागिएको उहाँको भनाइ थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष लिङ्देनले गाँउपालिकालाइ हात्तीको त्रासबाट मुक्त गराउन समेत यसलाइ सबैको चासोको केन्द्र बनाइने उल्लेख गर्नु भयो । यसका लागि दातृ निकाय समेतको सहकार्य तथा साझेदारीमा यस क्षेत्र भित्रको जलथल जङ्गललाई प्राकृतिक चिडियाखानाको रुपमा स्थापित गर्ने र जङ्गल मथिबाट नै बन्यजन्तुहरुको अवलोकन गर्न सक्ने गरि केवलकारको संचालन गर्ने हाम्रो निर्णय छ, लिङ्देनले भन्नुभयो ।

जङ्गल र आवादिको सिमानामा विस्तार गरिएको पर्यटकीय सडक आसपास स्थानीय लोपोन्मुख मेचे जाती, सन्थाल जाती, राजबन्शी जाती लगायत अन्य जातजातिको भेषभुषा, रहनसहन र संस्कृती समेतको प्रवर्द्धन हुने गरि एकै नासका भुकम्प प्रतिरोधात्मक घर समेतको निर्माण गरि होम–स्टे सञ्चालन गरीने उपाध्यक्ष डम्बरबहादुर गिरीले बताउनु भयो । सान्स्कृतिक तथा प्राकृतिक पर्यटनलाइ हामी स्थापित गर्न हामीले आवश्यक बजेट बिनियोजन गरेकाछौ, उपाध्यक्ष गिरीले भन्नुभयो ।

यसैगरी लक्षित समुदायको बजेट दुरुपयोग हुन नदिन गाँउपालिकाले नयाँ उपाय अवलम्बन गर्ने भएको छ । ‘हल्दीबारीका महिला, विकासमा पहिला’ भन्ने नारालाई सार्थक वनाउनका लागि हल्दीबारी गाउँपालिका अन्तर्गतका साविक जलथल, हल्दीबारी र गोलधाप गाविसका साविक वडाहरुलाइ आधार मानी २७ वटा टोल विकास संस्था गठन गरेर गाउँपालिकाबाट संचालन हुने आयोजना तथा कार्यक्रमहरु समेत सोही संस्था मार्फत संचालन गर्ने पनि सार्वजनिक गरिएको छ ।

कार्यक्रममा बोल्दै क्षेत्र नं. ३ का संघीय साँसद एवं राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटको दुरुपयोग गरेमा र राजनीतिक आस्थाको आधारमा भेदभाव गरेमा त्यो अपाच्य हुने बताउनु भयो । उहाँले गाँउपालिकाको बजेटमा भ्रष्टाचार गर्नु ‘आमाको रगत खानु’ सरहको अपराध भएको भन्दै त्यसमा चनाखो हुन आग्रह गर्नु भयो । उहाँले भारतसिमा जोडिएको यस गाँउपालिकालाइ बिकास र सम्बृद्धि तर्फ लैजान आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।