बिष्णुप्रसाद पोखरेल दमक । झापामा मागभन्दा बढि अण्डा उत्पादन भएको र उत्पादित अण्डाको लागत मुल्य समेत पाउनछाडेपछि यसमा संलग्न किसानहरु समस्यामा परेको बताईएको छ । दूइ महिनायता लगातर अण्डाको भाउ घटेको र बिक्रीमा समेत समस्या भएका कारण करोडौको लगानी संकटमा परेको किसानहरु बताउछन् ।
झापामा लेयर्स कुखुरा पालक किसानहरुले ३ महिना यतामा ३ करोड भन्दा बढि घाटा बेहोर्नु परेको जनाईएको छ । मासिक १ करोड १२ लाख घाटा व्यहोरिरहनु परेको जिल्ला उण्डा उत्पादक संघ झापाका उपाध्यक्ष देवेन्द्र प्रसाइले बताउनु भयो । झापाका ७० हाराहारी कुखुरा पालक व्यवसायीहरु अहिले यो ब्यवसाय छाड्नु न समात्नु अवस्थामा पुगेको उहाँको भनाइ रहेको छ ।
उहाँका अनुसार गत बर्ष यो समयमा होलसेल मुल्य प्रति गोटा ११ रुपयाँमा विक्री हुने अण्डा यो बर्ष ७ रुपयाँ ६१ पैसामा विक्री भइरहेको छ । यो लागतमुल्यभन्दा धेरै कमी भएको उहाँले जनाउनु भयो । दमक एग्रिकल्चर फार्मका प्रवन्ध निर्देशक समेत रहनु भएका प्रसाईका अनुसार बाहिरबाट सानो आकारका अण्डाहरु आउदा झनै समस्या पैदा भएको छ ।
संघका अनुसार झापामा रहेका ७० वटा लेयर्स कुखुरा फार्ममा करिव ३ लाख हाराहारीमा अण्डा उत्पादन गर्ने कुखुरा रहेकाछन् । यसलाइ आधार बनाउदा दैनिक रुपमा नै जिल्लामा अण्डा उत्पादक किसानले ४ लाखको हाराहारीमा घाटा बेहोर्नु परेको छ । यसबाट किसानहरु प्रत्यक्ष मारमा पर्ने गरेकाछन् ।
संघका पुर्व अध्यक्ष एवं कुखुरा पालक किसान भरत चम्लागाइका अनुसार बैकबाट लिएको ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्था रहेको छ । गतबर्षको यो समयमाभन्दा ४० प्रतिशत कममा अहिले अण्डा बिक्री गर्नु परिरहेको छ । अब केहि समय यहि अवस्था रहे ब्यवासय छाड्नु पर्ने अवस्था आउने उहाँले बताउनु भयो ।
चम्लागाइका अनुसार गतबर्ष यहि समयमा २ हजार प्रतिकाटुन बेचिएको अण्डा अहिले १२ देखि १४ सयमा बेचिदै आएको छ । एककार्टुनमा २ सय १० वटा अण्डा हुने गर्छ । करिब ७ सय कार्टुन अण्डा उत्पादन हुने गरेकोमा ५ देखि ६ सय काटुन खपत हुने गरेकोमा बाँकी बजारको समस्या रहेको छ ।
सरकारले बजारिकरणको ब्यवस्था नगरेमा र यहि अवस्था आएमा आफुहरु बाध्य भएर यस ब्यवसायबाट पलायन हुनुको किकल्प नरहेको चम्लागाइले बताउनु भयो । अस्वच्छ प्रतिस्पर्धाले समेत यहाँका किसान पीडामा रहेको उहाँले बताउनु भयो । चितवन लगायतका ठाँउबाट ल्याइने साना अण्डा सस्तोमा दिइने गरेकाले यहाँको अण्डा नबिक्दा समस्या चुलिएको उहाँले जनाउनु भयो ।
किसानहरुले अण्डा ग्रेडिङ गरेर बेच्नु पर्ने हुन्छ । प्रति कार्टुन १२ सयमा समेत अण्डा बेच्दा किसानको लागत नउठ्ने चम्लागाइ बताउनु हुन्छ । साना आकारका छनौटे अण्डा १२ सयमा समेत बिक्न मुश्किल हुने र अहिले त्यहि प्रकृतीका अण्डाहरु बढि हुन थालेको उहाँले बताउनु भयो । सरदरमा प्रति काटुन अण्डा उत्पादन गर्दा १८ सय खर्च निस्कने गरेको र आम्दानी भने १६ सय मात्र हुँदा घाटाका कारण अब यो ब्यवसाय खतरामा रहेको उहाँको दाबी छ ।










