सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा आइतबार (२० साउन ०७५) मा न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोकेका छन्। मिश्रले आईतबारदेखि नै सर्वोच्चमा रहेको प्रधानन्यायाधीशको चेम्बरबाटै कामकाज थालेका छन्।

संसदीय सुनवाई समितिको १८ साउनका दिन साढे १ बजेको निर्णय नआउँदासम्म मिश्रले आफू न्याय सेवाको सर्वोच्च पदमा पुग्छु भन्ने सायदै कल्पना गरेका थिए होलान्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘आइलागेको’ जिम्मेवारी न्याय परिषद र सरकारबाट जे निर्णय भएर आउँछ, त्यसलाई संसदीय सुनुवाई समितिले खुरुखुरु अनुमोदन गर्छ भन्ने पुरानो मान्यता भत्काउँदै समितिले सम्बैधानिक परिषदले प्रधानन्यायाधीसमा सिफारिस गरेका बरिष्ठ न्यायाधीस दीपकराज जोशीलाई अस्वीकृत गरेपछि मिश्रको भाग्य एकाएक चम्किएको छ।

उनले आईतबारदेखि कायममुकायम प्रधानन्यायाधीशका हैसियतमा सर्वोच्चको नेतृत्व लिएका छन्। बरिष्ठ न्यायाधीस जोशी १५ दिन बिदामा बसेपछि सर्वाेच्चको कायममुकायम नेतृत्व मिश्रको काँधमा आइपुगेको हो।

‘कायममूकायमले सुरक्षा र गोपनियताका लागि प्रधानन्यायाधीशकै चेम्बरबाट कामगर्ने चलन हो, सम्माननीय मिश्रले पनि त्यही च्याम्बरबाट जिम्मेवारी निर्वाह गरिरहनुभएको छ’ सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले नेपालखबरसँग भने।

संसदीय सुनवाई बिशेष समितिले शुक्रबार (१८ साउन ०७५) स्वीकृत गरेको भए जोशी २३ असोज २०७६ सम्म प्रधानन्यायाधीशका रुपमा रहने थिए। र, त्यसअगावै यही पुसमा मिश्र ६५ वर्षे उमेरहदका कारण अवकास पाउने थिए।

संसदीय समितिबाट अस्वीकृतिको पुरानो इतिहास नभएकाले पनि मिश्र पुसमा घर जाने मनस्थितिमा थिए। तर, सुनुवाई समितिको निर्णयसँगै जोशी विदामा बसेकाले मिश्रले आइतबारदेखि कामु प्रधानन्यायाधीस बन्ने अवसर पाएका छन्।

नेपाल सरकारको अधिकृतबाट न्याय सेवा प्रवेश गरेका मिश्रका लागि प्रधानन्यायाधीश एकप्रकारले ‘आइलागेको’ पद भएको छ। २८ वर्षको उमेरमा १० कार्तिक ०३८ मा न्यायसेवामा प्रवेश गरेका मिश्र ३७ वर्षपछि सेवाको सर्वोत्तम पदमा पुग्ने पक्कापक्कीजस्तै छ।

संवैधानिक परिषद्मा न्याय परिषद्ले प्रधानन्यायाधीश सिफारिशका लागि योग्यता पुगेका तीन न्यायाधीशको नाम पठाएको थियो। परिषदले पठाएका ती नामहरु थिए, दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शम्सेर राणा। ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २९ जेठमा बसेको बसेको परम्परा अनुसार वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिश गरेको थियो। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले ५ चैत्र ०७४ मा राजिनामा दिएपछि जोशीले कामु प्रधानन्यायाधीशका रुपमा सर्वाेच्चको नेतृत्व सम्हालेका थिए।

को हुन् मिश्र आइतबारदेखि कामु प्रधानन्यायाधीसको जिम्मेवारी पाएका मिश्र रुपन्देहीको रायपुर गाउँपालिकामा १८ पुष २०१० मा जन्मिएका हुन्। त्रिभुवन विश्वबिद्यालयबाट उनले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमै स्नातक तह उतीर्ण गरेका छन्। उनले दिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन्।

न्याय सेवामा अधिकृतका रुपमा ४ वर्ष बिताएपछि उनी १६ बैशाख ०४२ मा अतिरिक्त जिल्ला न्यायाधीश भएका उनी मध्यपश्चिम क्षेत्रीय अदालत सुर्खेतमा अतिरिक्त जिल्ला न्यायाधीशबाट ९ चैत्र २०४६ मा जिल्ला न्यायाधीश बनेका थिए।

१६ वर्ष जिल्ला न्यायाधीसका रुपमा देशका विभिन्न जिल्लामा सेवा गरेका मिश्र १४ फागुन २०६२ मा तत्कालिन पुनरावेदन (हाल उच्च) अदालतमा न्यायाधीश भए। करिब ८ वर्ष उच्च अदालतको न्यायाधीश भएका मिश्र ११ जेठ २०७० मा पुनरावेदनको मुख्य न्यायाधीश बने। मुख्य न्यायाधीश भएको एकवर्षपछि १३ जेठ ०७१ मा मिश्रलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो।

संवैधानिक परिषदको बैठकले परम्परा नतोडेमा वा कुनै आश्चर्य नभए मिश्र प्रधानन्यायाधीशका लागि सिफारिश हुनेछन्। संसदीय सुनवाई बिशेष समितिले अनुमोदन गरेमा मिश्र २८ औँ प्रधानन्यायाधीश हुनेछन्। नेपाल खबर बाट