काठमाडौँ, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु)को निर्वाचन जनमत नाप्ने ‘ब्यारोमिटर’ हुने बताउनुभएको छ ।

अनेरास्ववियु (क्रान्तिकारी) को पदाधिकारी बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले स्थानीय निर्वाचनपूर्व हुने स्ववियु निर्वाचन दलहरुका लागि जनमत नाप्ने ब्यारोमिटर भएकाले त्यही सोच र जिम्मेवारी बोधसहित निर्वाचनको तयारी गर्न विद्यार्थी नेतालाई आग्रह गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो– “स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हद बनाउने एजेण्डामा तपाईंहरुले जित्नुभएको छ, अब जनमतमा जित्न अझै मेहेनत गर्नुस्, तपाईंहरुको मेहेनतको प्रतिफल सुखद् नै हुन्छ भन्ने मलाई विश्वास छ ।”

लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विद्यार्थी राजनीतिमा गतिरोध पैदा भएको बताउँदै उहाँले गतिरोधको अन्त्य गर्न र विद्यार्थी राजनीतिमा नयाँ पुस्ता तथा सोचको विकासका लागि पनि स्ववियु निर्वाचन आवश्यक रहेको भन्नुभयो ।

बैठकमा क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, महासचिव अनिल शर्मालगायतले विद्यार्थी राजनीति र स्ववियु निर्वाचनको अवस्थाका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।