काठमाडौँ । नेपाल सरकारले उच्च शिक्षा अध्ययनका लागि मरिससमा विद्यार्थी नपठाउने निर्णय गरेको छ । मरिससमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी समस्यामा पर्न थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

मरिससमा उच्च वा प्राविधिक शिक्षा अध्ययनका लागि वार्षिक ४ सयको हाराहारीमा नेपाली विद्यार्थी जाने गरेका छन् । नेपालका कन्सल्टेन्सीहरुले काम गर्दै अध्ययन गर्न सकिने भनेर विद्यार्थीलाई मरिसस पठाउने गरेका थिए । तर बिगत ५ वर्षमा ७० जनाभन्दा बढी विद्यार्थीलाई उद्धार गरेर नेपाल ल्याउनु परेपछि सरकारले मरिससका लागि नो अब्जेक्सन लेटर (एनओसी) दिन बन्द गर्ने निर्णय गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालका अनुसार अर्को निर्णय नभएसम्मका लागि मरिससमा पढ्न चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन बन्द गरिएको छ । मरिसस अध्ययनका लागि उचित गन्तब्य नभएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

यसअघि मरिससमा बारम्बार नेपाली विद्यार्थी समस्यामा परेपछि शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले दक्षिण अफ्रिकास्थित नेपाली दूतावासलाई मरिसस के कस्तो देश हो र त्यहाँको अवस्था कस्तो हो भनेर

सोधिएको थियो । त्यसको जवाफमा दक्षिण अफ्रिकास्थित नेपाली राजदूत अमृतबहादुर राईले मरिससमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई रोक्नुपर्ने ब्यहोराको पत्र परराष्ट्र मन्त्रालयलाई पठाएका थिए ।

हेर्नुहोस्, राजदूत राईले परराष्ट्रलाई लेखेको पत्र

मरिसस हेर्ने दक्षिण अफ्रिकास्थित नेपाली दूतावासको पत्र परराष्ट्र मन्त्रालय हुँदै शिक्षा मनत्रालय र परराष्ट्र मन्त्रालयले पनि मरिससमा अध्ययनका सम्बन्धमा पठाएको पत्रलाई आधार मान्दै अर्को निर्णय नभएसम्मका लागि मरिससमा एनओसी नदिने निर्णय भएको प्रवक्ता अर्यालले बताए । तर कुनै विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा कुनै विद्यार्थीलाई अध्यापन गराउने भएमा भने विश्वविद्यालयको बारेमा जानकारी लिएर एनओसी दिन सकिने अर्यालले बताए ।

परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई लेखेको पत्र

‘युरोप भन्दै मरिससमा बेचिँदै नेपाली विद्यार्थी, विद्यार्थी नपठाउन दूतावासको अपिल’ शीर्षकमा रातोपाटीमा साउन १६ गते समाचार प्रकाशन गरेको थियो ।

त्यसलगत्तै सरकारले मरिससमा विद्यार्थी नपठाउने निर्णय गरेको हो । रातो पाटी बाट