बिष्णुप्रसाद पोखरेल दमक । झापाको दमक नगरपालिकाले नगरपालिकाभित्र बृक्षारोपण गर्न तथा हरित नगर बनाउनका लागि आफै बिरुवा नर्सरी सञ्चालनमा ल्याएको छ । नगरपालिकाले बिभिन्न प्रजातीका एकलाख भन्दा बढि बिरुवा तयारी भइसेको र अझै ५० हजार बिरुवा तयारीको अवस्थामा रहेको जानकारी दिएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार वडा नं. ३ मा नगरपालिकाले नर्सरी निर्माण गेको हो । करिब २० लाखको लागतमा नर्सरी निर्माण गरिएको र बिरुवा रोप्ने अवस्थामा पुगेको ओलीले जनाउनु भयो । बिरुवा भनेको समयमा नपाइने र महगो हुने भएकाले नगरपालिकाको बजेट धेरै खर्च हुने भएकाले आफै नर्सरी बनाइएको उहाँको भनाइ छ । दमकलाइ हरित नगरको रुपमा बिकास गरिने बर्षौदेखि बताइदै आएपनि यसका लागि ठोस काम भने हुन सकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिका तथा वडा कार्यालयको सिफारीसमा बिरुवाहरु पाइनेछन् । नगरभित्रका खाली जमिन, सरकारी जमिन तथा खोलाधार क्षेत्रमा बिरुवा रोप्न प्रोत्साहन गर्ने नीति नगरपालिकाले लिएको पनि ओलीले बताउनु भयो । एक घर एक बिरुवा अभियान समेत चलाइने र यसले यसमा टेवा पुग्ने ओलीले जनाउनु भयो । बिरुवाको सहज उपलब्धता नहुदला यो कार्यक्रम गर्न असहज हुने भएकाले नगरपालिकासंग पर्याप्त बिरुवा हुदा कार्यक्रम सफल हुने उहाँको भनाइ छ ।

नर्सरीको अनुगमन गर्दै नगर उपप्रमुख गीता अधिकारीले नर्सरीमा अहिले आशलाग्दो तरिकाले बिरुवाहरु देखिएको बताउनु भयो । बकाइनो, रामकाठ, खमारी, टिक, मसला, मलेसियन सखुवा,जामुन, सिसौ, खयर, लटर लगायतका बिरुवाहरु यहाँ रहेको अधिकारीले जानकारी दिनु भयो । १ लाख बिरुवा तयारी अवस्थामा रहेकाले अब बितरण शुरु गरिने उहाँको भनाइ रहेको छ । नर्सरीमा नियमित रुपमा आवश्यकता अनुसार बिरुवा उत्पादन गर्ने तयारी समेत रहेको उहाँले बताउनु भयो ।

वातवरण संरक्षण, खोला नियण्त्रण, सरकारी खाली जमिनको सदुपयोगका लागि बृक्षारोपण जरुरी भएकाले पनि नर्सरी नै स्थापना गरिएको अधिकारी बताउनु हुन्छ । नगरबासीहरुले आफुले चाहेको बिरुवा सहज रुपमा पाउदा र त्यसलाइ हुर्काउदा बातवरणमा ठुलो टेवा पुग्ने भएकाले नगरपालिकाले यसलाइ महत्वका साथ अघि बढाएको अधिकारी बताउनु भयो ।

वडा नं. ३ का वडाध्यक्ष नबिन बरालका अनुसार यहाँ नर्सरी भएको थाहा पाएपछि अहिले बिरुवा लिन आउने तथा माग्नेको भिड रहेको छ । बिरुवाको दुरुपयोग हुन नदिन र सहि सदुपयोगका लागि नीति बनाएर बिरुवा बितरण गरिने जनाउनु भयो । प्रत्येक वडा तथा बृक्षारोपण गरिनु पर्ने स्थानहरुको पहिचान गरेर बिरुवा उपलब्ध गराउने बताउनु भयो ।