रौतहट, पुस । करुनियामा एक साताअगाडि भएको युवकको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको छ । रौतहटको करुनिया–२ का अभिनन्दन साहको हत्या उनकै श्रीमतीले गराएको प्रहरीले जनाएको छ ।
आजको नयाँ पत्रिकामा खबर छ– ‘प्रेममा बाधा भएपछि सकुन्तला देवीले नै पतिको हत्या गराएकी हुन्,’ रौतहटका प्रहरीप्रमुख एसपी यज्ञविनोद पोखरेलले भने । साहकी पत्नी सकुन्तला देवी र स्थानीय एक युवकलाई हत्या आरोपमा बुधबार प्रहरीले पक्रउा गरेको छ ।
कतारमा रोजगारी गरेर एक महिनाअघि मात्रै घर फर्किएका २३ वर्षीय अभिनन्दन साहको २१ पुसमा घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
करुनिया– ६ स्थित कमदेही खोलासँगै जोडिएको सिसौघारीमा उनको शव फेला परेको थियो । मृतक साह वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका बेला श्रीमती र पप्पु भनिने मनीषकुमार सुमनबीच प्रेम सम्बन्ध रहेको थियो । सुमनको दुई वर्षदेखि सकुन्तला देवीसँग सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।
उनीहरुबीच प्रेम सम्बन्ध बढ्दै गएको र मृतक घर फर्किएपछि प्रेममा बाधा पर्न गएकाले सुमनले सकुन्तला देवीको योजनामा हत्या गरेको प्रहरीले जनाएको छ । उनले साहको टाउकोमा फलामको रड प्रहार गरी लडाएर चक्कुले घाँटी रेटी हत्या गरेको प्रहरीलाई बताएका छन् ।
यसरी भएको थियो हत्या
सकुन्तलाको योजनाअनुसार २१ पुसमा गाउँकै कामदेही खोलानजिकको सिसौको घारीमा लगेर सुमनले अभिनन्दनको हत्या गरेका थिए । नातामा काकाको छोरा पर्ने सुमनले सिसौघारीमा लगेर पछाडिबाट रडले टाउकोमा प्रहार गरेको र बेहोस भएपछि घाँटी रेटेर हत्या गरेको प्रहरीसँगको बयानमा जनाएका छन् ।
प्रहरीले हत्यामा प्रयोग भएको रड र चक्कुका साथै मोबाइल बरामद गरेको छ ।



