बिष्णुप्रसाद पोखरेल दमक । झापामा गतबर्ष आएको बाढीले किसानहरुको करौडौ क्षति भएपछि राहतका लागि भनेर जिल्ला कृषि बिकास कार्यालय मार्फत आएको कार्यक्रमहरुको ९ करोड रुपिया पैसा फिर्ता भएको पाइएको छ । यसमा उत्पादन बृद्धि र माटो सुधारका लागि आएको बजेट सबैभन्दा बढि फिर्ता भएको पाईएको हो ।
जिल्ला कृषि बिकास कार्यालय झापाका प्रमुख प्रकाशकुमार डाँगीका अनुसार गतबर्ष बाढीबाट प्रभावित किसानहरुलाइ लक्षित गरेर कृषि बिकास रणनीति अनुगमन तथा समन्वय शिर्षकमा १२ करोड १४ लाख रुपिया बिभिन्न शिर्षक सहित बजेट आएको थियो । ३ करोड रुपिया खर्च भएपनि बाँकी खर्च हुन नसकेर फिर्ता भएको उहाँले बताउनु भयो ।
डाँगीका अनुसार रसायनिक मल बितरणका लागि आएको २ करोड ७९ लाख, प्राङ्गरिक मलका लागि आएको २ करोड ३० लाख, ‘सोयल कन्डिस्नर’ का लागि आएको १ करोड ७५ लाख लगायतको रकम फिर्ता गएको हो । बजेट आएपनि मल बितरण तत्काल रोक्न भनेर माथिबाट नै आदेश आएपछि त्यो रोकिएको बताईएको छ । कतिपय काम कसरी गर्ने भनेर स्पष्ट नपठाइएका कारण र कतिपय सम्बन्धित बिभागबाट नै काम रोक्न भनेपछि रोकिएको जानकारी दिनु भयो ।
किसानहरुका लागि केहि कार्यक्रमहरु गरिएको डागिले बताउनु भयो । ३ करोडभन्दा बढिको लगानीमा बाढी प्रभावित क्षेत्रमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको उहाँले जानकारी दिनु भएको छ । बाढी प्रभावित झापा, बाह्दशी, कमल लगायतका गाँउपालिका सहित बिभिन्न स्थानीय तहहरुमा अन्न भण्डार गर्नका लागि किसानहरुलाइ १ हजार सिडविन बितरण गरिएको बताईएको छ ।
यसैगरी किसानहरुका लागि १२ हजार ‘हर्मेटिक ब्याग’ बितरण भएको जनाईएको छ । हर्मेटिक ब्यागलाई सुपर ग्रेन ब्याग पनि भनिन्छ । यो ब्याग बजारमा पाइने सामान्य किसिमको प्लास्टिक ब्याग जस्तै देखिए पनि त्यसभन्दा नितान्त फरक किसिमले तयार पारिएको बताईएको छ । यसको प्रयोग अनाज तथा बीउहरु भण्डारण गर्नका लागि मात्र गरिन्छ । यो १० वर्षभन्दा बढी टिक्छ । यसैगरी यसै कार्यक्रम अन्र्तगत झापा जिल्लाभर ८ वटा हाइटेक नर्सरी निर्माण गर्न किसानहरुलाइ अनुदान उपब्ध गराइएको कृषि बिकास कार्यालय झापाका प्रमुख डाँगीले बताउनु भयो ।
उहाँका अनुसार मेचीनगरमा २ वटा, भद्रपुरमा २ वटा, अर्जुनधारा, शिवसताक्षी र बिर्तामाड नगरपालिकामा एकएक वटा र बुद्धशान्ति गाँउपालिकामा एउटा हाइटेक नर्सरी बनाईएको छ । जिल्लामा एकैसाथ एकबर्ष यति धेरै हाइटेक नर्सरी स्थपना भएको पहिलो भएको बताइन्छ ।
खोलानालाले पुरीएको खेत सुधार कार्यक्रमका लागि बजेट आएपनि यो किसानले सेवा नलिएको पाईएको छ । प्रतिहेक्टर ५ हजारमात्र अनुदान रहेकाले किसानलाइ यो अनुदानले आकर्षित गर्न नसकेको डाँगी बताउनु हुन्छ ।
किसानहरुको सयौ हेक्टर जमिन बालुवामा परिणत भएको छ । कृषि बजार सेड मर्मतका लागि आएको बजेट समेत प्रयोग हुन नपाएको जनाइन्छ । गहुको बीउ बिरण यस कार्यक्रममा रहेपनि त्यो समेत नबाडिएका कारण बजेट फिर्ता गएको भेटिएको छ ।










