दुवाडी/काठमाडौं ।
नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य हुने भएको छ । ऊर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले शुक्रबार काठमाडौं ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेसँग यो ढोका खुलेको हो । विद्युत् अभाव टार्न भारतबाट दैनिक चार सय मेगावाट बिजुली किन्दै आएको नेपालले बंगलादेशलाई बिजुली बेच्न सम्झौता गरेको हो ।
नेपालसँग ऊर्जा समझदारीमा हस्ताक्षर गर्ने बंगलादेश तेस्रो मुलुक हो । यसअघि भारत र चीनसँग पनि यस्तै ऊर्जा सहकार्यसम्बन्धी सम्झौता भएको छ । तर, अहिलेसम्म नेपालले भारत र चीनलाई बिजुली बेच्न सकेको छैन । विद्युत्को उच्च माग भएपछि बंगलादेश पछिल्ला वर्षमा विद्युत् आपूर्तिको विकल्प खोज्दै छ । बंगलादेशले विद्युत् भिœयाउन भुटानमा पनि जलविद्युत् आयोजना निर्माणमा लगानी गरेको छ । हस्ताक्षरका क्रममा बंगलादेशले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजनाबाट ५ सय मेगावाट बिजुली खरिद गर्नेछ । नेपालमा खपत भएर बाँकी विद्युत् बंगलादेश निर्यात गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बंगलादेश पक्ष र ऊर्जा मन्त्रालयबीच नेपालमा बंगलादेशले लगानी गर्न सक्ने सम्भावित जलविद्युत् आयोजनाको विषयमा समेत छलफल जारी छ । नेपालका लागि बंगलादेशी राजदूत मासफी विन्टे सामले नेपालमा जलविद्युत् क्षेत्रमा लगानीका लागि बंगलादेश तयार रहेको बताउँदै आएकी छन् ।
विद्युत् अभाव टार्न भारतबाट दैनिक ४ सय मेगावाट बिजुली किन्दै आएको नेपालले बंगलादेशलाई बिजुली बेच्न सम्झौता गरेको हो सन् २०१६ को अक्टोबरमा बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसिया आर्थिक सम्मेलनको क्रममा नेपाल र बंगलादेशबीच ऊर्जा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा बंगलादेशले नेपालमा करिब १ हजार ६ सय मेगावाट क्षमताबराबरका दुई आयोजना निर्माण गर्ने उल्लेख थियो । त्यसक्रममा बंगलादेशले निर्माण गर्ने गरी १ हजार १ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५३६ मेगावाटको सुनकोसी तेस्रो आयोजना प्रस्ताव गरिएको थियो । दुवै आयोजना बंगलादेशले निर्माण गरी उत्पादित विद्युत् बंगलादेश लैजाने गरी सहमतिमा हस्ताक्षर भएको थियो । नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समझदारीमा समावेश छन् । दुई मन्त्रीबीच भएको समझदारीअनुरूप अब छिट्टै सचिवस्तरीय संयन्त्रको बैठक बस्नेछ । बंगलादेशी ऊर्जा राज्यमन्त्री हमिदले समझदारीमा हस्ताक्षरपछि बोल्दै नेपाल र बंगलादेशमा स्थायी सरकार रहेकाले दुवै देशबीचको ऊर्जा सहकार्यले मूर्तरूप लिने विश्वास व्यक्त गरे । उनले भारत हुँदै बंगलादेशमा ऊर्जा भिœयाउन भारतीय पक्षसँग छलफल गर्ने बताए । आगामी बिमस्टेक बैठकमा बंगलादेशले यो विषय राख्ने उनको भनाइ छ ।
ऊर्जामन्त्री वर्षमान पुनले हस्ताक्षरका क्रममा दुई देशबीच गठन हुने सचिव र सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठक नेपालमा हुने बताए । मन्त्री पुनले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि पनि छलफल अघि बढाइने बताए । यसबारे औपचारिक प्रस्ताव कूटनीतिक संयन्त्रमार्फत पठाइने उनको भनाइ छ । बंगलादेशले आफूलाई अपुग विद्युत् भारतसँग पनि खरिद गर्दै आएको छ । भारतसँग बंगलादेशले ६ सय मेगावाट बढी विद्युत् खरिद गर्दै आएको छ । बंगलादेशले भारतीय विद्युत् व्यापार निगमसँग भारतीय कम्पनीले नेपालमा निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । भारतीय कम्पनी जीएमआरले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणको जिम्मा पाएको छ । समझदारीअनुसार माथिल्लो कर्णालीबाट उत्पादित ३ सयदेखि ५ सय मेगावाटसम्म विद्युत् बंगलादेशले खरिद गर्नेछ । नेपालसहित भारत, भुटान र बंगलादेश सम्मिलित उपक्षेत्रीय बीबीआईएन बैठकमा समेत बंगलादेशले नेपालबाट भारत हुँदै विद्युत् लैजान चाहेको मुद्दा उठाउँदै आएको छ ।
विद्युत्को माग र आपूर्तिबीचको असन्तुलन बंगलादेशको समस्या रहँदै आएको छ । तथ्यांकअनुसार सन् २०१६ सम्ममा बंगलादेशका कुल परिवारमध्ये ७६ प्रतिशतकहाँ मात्रै विद्युत् सुविधा पुगेको छ । यसलाई सन् २०२१ सम्ममा ९८ प्रतिशत पु¥याउने बंगलादेश सरकारको लक्ष्य छ । तत्कालीन वाणिज्यमन्त्री रोमी गौचन थकाली र बंगलादेशी समकक्षी तोफेल अहमदले सहमतिमा हस्ताक्षर गरेका थिए । तर, सम्झौतापछि उक्त अवधारणामा कुनै प्रगति भएको छैन । नेपालमा आगामी केही वर्षभित्र उत्पादित विद्युत् बढी हुने अनुमान छ । स्वदेशी लगानीमा निर्मित ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाले उत्पादन थालेपछि मागभन्दा आपूर्ति धेरै हुने अनुमान गरिएको छ । यसअघि नेपाल–भारतबीच यस्तो सहकार्य हुँदै आएको छ । नेपाल र भारतका ऊर्जा सचिव र सहसचिवस्तरीय संयुक्त संयन्त्रले दुई देशको ऊर्जासम्बन्धी मुद्दा छलफल गर्दै आएको छ ।
नेपाल र बंगलादेशबीच सहकार्य समझदारीमा हस्ताक्षर गर्ने गरी लामो समयदेखि तयारी भइरहेको थियो । नेपाल र बंगलादेशबीच यसबारे पटकपटक छलफल हुँदै आएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच पनि ऊर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो । यो सम्झौताअनुसार नेपाल र चीनबीच पनि सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र छन् ।










