बिष्णुप्रसाद पोखरेल दमक । झापाको भद्रपुरमा नेपाल बाल संगठन (बाल मन्दिर) ले आफ्नो बिद्यालय चलाइरहेको बताएपनि यो नभएको पाईएको छ । बाल मन्दिरको नाममा ८ बिघाह जमिन रहेको छ । नेपाल बाल संगठन (बाल मन्दिर) सञ्चालक समितिका पदाधिकारी र कतिपय सदस्यहरुले बाल मन्दिर जिवितै रहेको बताएपनि त्यो नरहेको र प्रारम्भिक बाल विकास केन्द्रलाइ नै बाल मन्दिर भनेर झुक्याउने गरिएको बताइन्छ ।

२०२९ सालदेखि जिल्लामा बालमन्दिर सञ्चालमा रहेको र ३ सय जनासम्म बिद्यार्थीहरु रहेको भएपनि करिब एक दशकयता भने नेपाल बाल संगठन (बाल मन्दिर)को अस्तित्व नै समाप्त भएको बताइएको । स्थानीय श्रोत केन्द्र मार्फत यहाँ प्रारम्भिक बाल बिकास केन्द्र सञ्चालनमा रहेको र नेपाल बाल संगठनले यसैलाइ आफ्नो बाल मन्दिर भएको दाबी गर्दै आएको भेटिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भद्रपुरको मेची क्याम्पस र मेची अञ्चल अस्पतालको नजिक एक बिगाह, शरणामतीमा दुइ वटा कित्ता गरेर ७ बिगाह जग्गा पनि भेटिएको छ । नेपाल बाल संगठन लि.सोसाइटीको नाममा जग्गा दर्ता देखिन्छ । बाल मन्दिरको भवनमा २०६५ सालदेखि स्थानीय श्रोत केन्द्रमार्फत प्रारम्भिक बाल शिक्षाको रुपमा पठनपाठन हुदै आएको र यहाँ कार्यरत शिक्षिकाहरुले पारिश्रमिक समेत यसै अन्र्तगत पाउने गरेको पाईएपछि पुरानो बाल मन्दिर बन्द भएको रहस्य खुलेको हो ।

पृथ्वी आधारभूत विद्यालयले मातृत्व दिएर यहाँ आधारभुत बाल विकास केन्द्र सञ्चालनमा रहेको भेटिएको छ । बालबिकास केन्द्र सञ्चालन भएको भवन भने बाल मन्दिर कै आफ्नै हो । अहिले यहाँ ३५ जना विद्यार्थीहरु रहेको केन्द्रकी प्रधानाध्यापक हिरा भूर्तेलले बताउनु भयो । भुर्तेलले दोहोरो तलव बुझ्दै आएको समेत खुलासा भएको छ । भुर्तेलले श्रोत केन्द्रबाट र नेपाल बाल सगठन बाल मन्दिर सञ्चालन समितिबाट तलव बुझ्दै आएको श्रोतको भनाइ छ ।

पञ्चायतकालीन समयमा असाहय एवं गरिबका छोराछोरीलाइ निशुल्क अध्यापन गराउनका लागि प्रत्येक जिल्लाका सदरमुकाममा यस प्रकारका बाल मन्दिरहरु सञ्चालनमा रहेका थिए । स्रोत व्यक्ति प्रेमबहादुर भूजेलले आफुहरुलाइ नेपाल बाल संगठनले सञ्चालन गरेको बाल मन्दिर यहाँ रहेको भन्ने जानकारी नभएको र थाहा नपाएको बताउनु भयो ।

आफुहरुले आफ्नै आधारभुत बाल बिकास केन्द्रको रुपमा बुझेको जनाउदै अब यस बिषयमा छानबिन गरिने जनाउनु भयो । यहाँ सञ्चालन भएको कक्षाहरु नेपाल बाल संगठन (बाल मन्दिर) संग सम्बन्धित नरहेको समेत उहाँले दाबी गर्नु भयो । अहिले पनि यस बालमन्दिर भित्र पुर्वराजा, रानी सहित राजपरिवारका फोटाहरु राखिएकाछन् ।

झापाका जिल्ला शिक्षा समन्वय अधिकारी योगेन्द्र बरालले झापामा बाल संगठनले चलाएको कुनै पनि बिद्यालय नरहेको बताउनु भयो । शिक्षा कार्यालयबाट प्रक्रिया पुरा गरेर आधारभुत बाल शिक्षा रहेको जनाउदै त्यो अरुले दाबी गर्न नमिल्ने उहाँको भनाइ छ । यहाँ तीन जना प्रारम्भिक बाल शिक्षा शिक्षकलाई तलब, खाजा खर्च र मसलन्द नियमानुसार स्थानीय श्रोतले उपलब्ध गराउदै आएको आफुले बुझेको उहाँले जनाउनु भयो । बाल विकास केन्द्र र बाल मन्दिर विद्यालय दुवैतिरबाट शिक्षिकाले पारिश्रमिक बुझ्दै आएको बिषय भने उहाँले अनबिज्ञता प्रकट गर्नु भयो ।

अहिले पनि नेपाल बाल संगठन (बाल मन्दिर) झापामा सक्रिय रहेको जिल्ला सचिव रुद्र भूर्तेलले बताउनु भयो । उहाँले आफुहरुले जिल्ला शिक्षा कार्यालयलाइ आग्रह गरेर आधारभुत बाल शिक्षा सञ्चालन गरेको दाबी गर्नु भयो । बाल संगठन सक्रिय रहेको जनाउदै यस बिषयमा सरोकारवाला निकायहरुलाइ जानकारी भएको उहाँको भनाइ छ । सञ्चालन श्रोत केहि नभएर आफुहरुले बाल मन्दिरलाइ आधारभुत बाल शिक्षाको रुपमा सञ्चालनका लागि आग्रह गरेबमोजिम सञ्चालनमा आएको भुर्तेलको भनाइ छ ।

संगठनको नाममा शरणामतीमा रहेको जग्गामा स्थानीयहरु बसेको र त्यो खालि गराउन समस्या भएको पनि भुर्तेलले बताउनु भयो । लामो समयपछि यहाँबाट आफुहरुले ५४ हजार उठाउन सकेको र संगठनको नाममा बैक खातामा ५ लाख बाहेक अन्य केहि पनि नरहेको समेत भुर्तेलले जानकारी दिनु भयो । हामीले ब्याक्तिगत रुपमा लाभ लिने र फाइदा लिने यसमा केहि पनि छैन, हाम्रो बाल संगठन निष्क्रिय छैन, भुर्तेलले भन्नुभयो ।