वालिङ, १ माघ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले सरकारले सदनमा टेबल गरेको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा सफल नहुने दाबी गर्नुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति स्याङ्जाद्वारा आयोजित संविधानको कार्यान्वयनमा जनपरिचालन अभियानलाई आज वालिङमा सम्बोधन गर्दै उपाध्यक्ष रावलले मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले अगाडि सारेको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने अडान झनै खतरनाक भएको बताउनुभयो ।

“संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने कुरा आफैँमा प्रस्ट छैन,”– उहाँले भन्नुभयो– “संविधान संशोधन प्रस्ताव नेपालको राष्ट्रिय हितमा नभई बाह्य शक्तिको दबाबमा आएकाले संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिन्नौँ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले अहिले संविधानको कार्यान्वयनका लागि निर्वाचनको मिति तय गर्नुपर्ने बेलामा उदासीनता देखाएर संविधान संशोधनको प्रस्ताव गरेर बेमौसमको बाजा बजाएको नेता रावलको भनाइ थियो । “नेपाली काँग्रेसले माओवादी केन्द्रलाई साथमा लिई संविधान संशोधनको कुरा उठाएर देशमाथि घात गरेको छ,” उहाँले भन्नुभयो ।