काठमाडौं, ३ माघ । भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गका मालपोत र नापी कार्यालयहरुमा पीए आतंकका कारण कर्मचारीहरु पीडित हुन थालेका छन् ।
साँघु साप्ताहिकमा खबर छ– भूमिसुधार मन्त्री विक्रम पाण्डेका स्वकीय सचिव प्रेम बलायरले कर्मचारीहरुसँग महाधिवेशनका लागिसहयोग चाहियो भन्दै घुस माग्न थालेका छन् ।
उनले काठमाडौं उपत्यकाका मालपोत र नापी कार्यालयका कर्मचारीदेखि उपत्यका बाहिरका सहरी क्षेत्रका कार्यलय प्रमुखसँग पनि रकम माग गर्दै हैसान पार्न थालेका छन् ।
भूमिसुधारका कर्मचारकिो सूची पीए बलायरलाई उपलब्ध गराउने काम भ्रष्टाचारको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका निलम्बित सर्भेक्षक कमलबहादुर खत्रीले गर्दै आएका छन् ।
सर्भेक्षक खत्री र पीए बलायरको घर एकै ठाउँ हो । महाधिवेशनको नाममा मन्त्रीका पीए बलायरले पैसा माग्ने र नदिए काजमा मन्त्रालय तान्ने धम्की दिने गरेको गुनासो काठमाडौंको एक मालपोत कार्यालयका अधिकृतले गरे । बलायरले घुस माग्नेमात्र होइन, मालपोत र नापी कार्यालयमा करारमा कर्मचारी राख्न पनि चर्को दबाब दिने गरेका छन् ।
यसैबीच, पीए बलायरले चावहिल नापी कार्यालयको साढे तीन महिनादेखि रिक्त प्रमुख पदमा चितवनका नापी कार्यालय प्रमुख मणि रेग्मीलाई ल्याउन लागेका छन्। बलायरले रेग्मीसँग अग्रिम घुस लिएर चावहिलको प्रमुखमा ल्याउन लागेको स्रोतले बतायो।



