काठमाडौं, ५ असोज । पटकपटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समिति सुनसरीको बैठकले वैकल्पिक व्यवस्था नभएसम्म सप्तकोसीमा डुंगा सञ्चालनमा रोक लगाउने निर्णय गरेको आजकोअन्नपूर्ण पोस्टमा खबर छ ।
सुनसरीका श्रीलंका टापुबाट शनिबार प्रकाशपुर गाविस आउँदै गरेको ६३ जना सवार डुंगा दुर्घटना हुँदा नौजना स्थानीय बेपत्ता भएका छन् । उनीहरुको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
बर्सेनी दर्जनौंको ज्यान जानेगरी सप्तकोसी नदीमा डुंगा दुर्घटना हुन थालेपछि स्थानीय प्रशासनले डुंगा सञ्चालनलाई व्यवस्थित बनाउने भएको छ ।
जथाभावी डुंगा सञ्चालनमा ल्याउँदासमेत स्थानीय प्रशासनले अनुगमन नगरेका कारण पटकपटक दुर्घटना हुने गरेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले नयाँ मापदण्ड बनाएर मात्र डुंगा सञ्चालन गर्न सुनसरी जिविसलाई निर्देशन दिएको छ ।



