काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कति स्वार्थी छन् भन्ने कुरा पछिल्लो समय खुल्न थालेको छ । राजनीतिक सहमतिका नाममा दाहालले प्रमुख विपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग पटक पटक गोप्य कुराकानी गरे ।

दाहालले ती गोप्य वार्ताहरूलाई गोप्य राख्न सकेनन् । किन उनले ती कुरालाई गोप्य राखेनन् त ? अहिले आएर त्यसको रहस्य खुल्दैछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली कांग्रेसले प्रधानमन्त्री दाहाललाई निर्वाचनको मिति घोषणा गरेर चैतभित्र स्थानीय निकायको चुनाव गर्न दबाब दिएपछि एमालेसँग सहमतिको प्रयास गरेको जस्तो देखाएर सबै कुरा भाँड्ने कार्य गरेको खुलासा भएको हो । एमाले उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहालसँग स्थानीय निकायको निर्वाचन चैतभित्र गर्ने र प्याकेजमा सहमति खोज्ने सहमति भएका थिए । तर, दाहालले प्याकेजमा सहमति खोजेर आफ्नो प्रधानमन्त्री पदलाई धरापमा पार्न नचाहेको खुलेको छ ।

प्रधानमन्त्री दाहाल चुनाव पनि घोषणा नगर्ने बरु ०७४/७५ सालको नयाँ वजेट ल्याउने तयारीमा छन् । कांग्रेसलाई धोका दिएर दाहालले मंसिर महिनासम्म आफ्नो सत्ता लम्बाउने तयारीमा लागेका छन् । यो कुरा चाल पाएको कांग्रेसले प्रधानमन्त्री दाहाललाई सहमति खोज्न दबाब दिइरहेको छ ।

चैतको २० गतेसम्म चुप लागेर बस्ने रणनीति बनाएको कांग्रेसले त्यसपछि प्रधानमन्त्री दाहाललाई चर्कै दबाब दिने छ । अहिले पनि प्रधानमन्त्री दाहालले सहमति र सहकार्यको राजनीतिमा ध्यान नदिएको अनुभूति गरिरहेको कांग्रेसले धोका भएको ठानिरहेको छ ।

प्रधानमन्त्री दाहालले एमालेलाई सहमतिमा ल्याउनेभन्दा पनि भड्काउने कार्य गर्दै आएका छन् । एमाले जति भड्कियो त्यति आफूलाई फाइदा हुन्छ भन्ने ठानेका छन् । यो कुरा एमाले, मधेसी मोर्चा र स्वयं कांग्रेसका नेताहरूले पनि बुझेका छन् । स्रोतले भन्यो–‘प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नै ठूलो घात गर्दै आउनु भएको छ । एमालेले कहिल्यै प्रधानमन्त्रीमा दाहाललाई मानेको थिएन । कांग्रेसले साथ दिएको छ । कांग्रेससँग घात भयो भने दाहाल कहिल्यै माथि उठ्न नसक्ने गरेर सक्किने छन् ।’

एमाले पनि अहिलेको कांग्रेस र माओवादीको गठबन्धन जसरी हुन्छ तोड्ने पक्षमा देखिएको छ । तर, एमालेले सोचे जस्तो त्यति सजिलो भने छैन । माओवादी र कांग्रेसको प्रतिस्पर्धी एमाले हो । आगामी चुनावमा माओवादी र कांग्रेस मिलेर जाँदा नै राजनीतिक फाइदा पुग्छ ।

एमालेले आफ्नो दबदबा बनाइरहेका बेला प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले बुझेर कदम चाल्नु पर्ने कांग्रेसका एक नेता बताउँछन् । यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।