८ माघ । बाजुरा जिल्लामा अवैध सहकारी संस्थाको नाममा लाखौंको कारोवार सञ्चालन गरेको रहस्य बाहिर आएको छ । मार्तडीस्थित केही व्यापारी र प्रतिष्ठित व्यक्तिहरू मिलेर सहकारीका नाममा लाखौंको रकम संकलन गर्ने गरेको रहस्य बाहिर आएको हो ।
सहकारी संस्था दर्ता नगरी कुनै कारोबार गर्न नमिल्ने प्रावधान भएपनि बिगत १० महिनादेखि लाखौं रकम संकलन गर्ने गरेको शेयर सदस्यले बताएका छन् । सुन्दर बडिमालिका बहुदेश्यीय र बडिमालिका बहुदेश्यीय सहकारीका नाममा रकम संकलन गरिएको पाइएको छ । यी दुबै नामका सहकारी सहकारी डिभिजन कार्यालयमा दर्ता नै छैनन् ।
बडिमालिका बहुदेश्यीय सहकारी संस्था २०३१ सालमा दर्ता भएको देखिएपनि खारेज भइसकेकोले ती नभएको डिभिजन सहकारी कार्यालय डोटीका प्रमुख गोविन्द्रप्रसाद पाण्डेले बताए । दर्ता नगरी सहकारीले पास बुक र छापसहित कारोबार गरिरहेको छ । दुबै सहकारीका नाममा दैनिक बचत गर्ने गरिएको छ ।
स्रोतको दाबी मान्ने हो, भने करीब २ सय बढी शेयर सदस्यले दैनिक बचत गरेको देखिन्छ । एक सय देखि १० हजार समेत दैनिक जम्मा गर्ने व्यापारी अवैध सहकारीको शेयर सदस्य बनेका छन् । दुई वटै सहकारीका नाममा दैनिक १ देखि ३ लाख रुपैया नियमित बचन गर्ने गरिएको छ ।
बचन कार्य २०७२ चैत्र १ गतेबाट भएको खुल्नमा आएको छ । १० महिनादेखि अवैध रुपमा रकम संकलन गर्दै आएको समूहले यही माघ ३ गते सहकारी दर्ता गरेको छ । त्यो पनि फरक नाममा । बहुदेश्यीय सहकारी दर्ता गर्न प्रावधान नै नभएपछि उनीहरुले सुन्दर बडिमालिका उपभोक्ता सहकारी संस्थाका नाममा दर्ता गरेका छन् ।
संकलन भएको रकम पनि सहकारी संस्थाका अध्यक्ष पदम बडुवाल र कोषाध्यक्ष अमृता सिंहका नाममा जम्मा गर्ने गरिएको पाइएको छ । हाल ३ करोड बढी रकम संकलन भएको बुझ्नमा आएको छ । तर सहकारी संस्थाका प्रतिनिधिले भने त्यस बारे जानकारी दिन मानेनन् ।
सहकारीका नाममा अवैध रकम संकलन गर्न पाँच जना बचत संकलक राखिएको छ । उनीहरुले दैनिक १ देखि ३ लाख संकलन गर्ने गरेका छन् । चैत्र देखि हालसम्म ३ लाख बढी बचत गरिसकेका एक जना शेयर सदस्यले अवैध भएको थाहपाएपछि फिर्ता लिने बताएका छन् । ‘प्रतिष्ठित व्यक्तिहरुबाटै बचत गर्न आग्रह गरेपछि दैनिक व्यापारबाट आम्दानी भएको रकम नियमित बचत गरेँ, बल्ल थाह भयो, यो ठगी नै रहेछ’, नाम नबताउने सर्तमा उनले भने ।
सहकारी शेयर प्रमाण पत्र माग्दा पनि नदिएको र कहिले दिनेभन्दा के चहियो तपाईलाई बचत गरे भैगोनी भनेर छल्दै आएको समेत उनले बताए । दैनिक १ सय बचत गर्दै आएका एक जना व्यापारीले उजुरी गर्ने समेत बताए । सहकारीमा बचत गर्नेमा उद्योण वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देखि शिक्षक व्यापारी सबै रहेका छन् ।
संस्था दर्ता छ, छैन्, थाह भएन्, व्यक्तिगत सम्बन्धका आधारमा बचत गर्न भनेपछि भरेको हुँ, अवैध रहेछ, भन्ने बल्ल मात्र थाह भयो, उनले भने । सहकारी जिल्लामा १ सय ७० बढी छन् । सहकारी अवैध रहेको पनि जिल्लामा पुस २८ देखि माघ २३ गतेसम्म चलेको सहकारी शिविरबाट थाह भएको हो ।
सहकारी दर्ता भएको भन्दै बचत कार्य सुरु गरेको १० महिना पछि कागज बोकेर दर्ता प्रक्रिया सुरु गर्न खोजेपछि शेयर सदस्यहरु शसंकित बनेका हुन् । शेयर र बचत रकमसँगै भने बमोजिमको व्याज पाएपनि सञ्चालकको नियत नै खराब रहेको शेयर सदस्यहरुको भनाई छ ।
सञ्चालक समिति अध्यक्ष पदम बडुवालले कागज नमिनेपनि हिसाब किताब हुबहु रहेको भन्दै जतिबेला पनि हेर्न सकिने बताए । ‘केही फरक र राम्रो काम गरौंभन्दा रिस, डाह गर्नेहरूले त्यो गरेका हुन्’, बडुवालले भने ।
डिभिजन सहकारी कार्यालय प्रमुख गोविन्द्र पोखरेलले यो गलत कार्य भएकोले सम्बन्धित निकायले कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने बताए । दर्ता नभएको सहकारीलाई नियमन र अनुगमन गर्ने काम डिभिजन सहकारीको नहुने भएकोले त्यसमा स्थानीय प्रशासन लगायतका निकायले अनुसन्धान सुरु गर्नु पर्ने उनले थपे ।
सहकारीमा तत्कालीन वाणिज्य बैंक बाजुरामा कार्यरत जितजंग सिंह उपाध्यक्ष, शिक्षक समेत रहेका विपिन विष्ट सचिव रहेका छन् । दर्ता प्रक्रियाका लागि शेयर पुँजी संकलन गर्न पाइने भएपनि कारोकार नै सञ्चालन गर्नु गलत भएको जिल्ला सहकारी संघका अध्यक्ष नीरबहादुर शाहीले बताए ।
‘बचल समूह, ऋण समूह लगायतको नाममा केही महिना सामान्य बचत गर्नु अन्थया होइन, तर दर्ता नै नगरेर लाखौको रकम संकलन गर्नु अवैध नै हो । तर जिल्ला सहकारी संघले यस बारे केही बोल्न मिल्दैन’, शाहीले थपे । छाप, पास बुकदेखि नाम समेत फरक पारेर बचत गर्दै आएका सञ्चालकहरूले भने आफूहरूले कुनै ठगी नगरेको बताएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने प्रक्रिया बुझेर मात्र बोल्ने बताए । ‘म मार्तडी बाहिर छु, मैले बुझेर कुरा गरुला, यदी सत्य हो, भने त्यो सरासर ठगी हो’, लामिछानेले फोनमा भने । यो सहकारी देखिएर मात्र अवैध भनेर थाह भएको हो, अरु पनि हुन सक्ने सहकारी अभियान्ताहरूको भनाई छ ।



