सामाजिक सञ्जाल इन्स्टाग्रामका सह–संस्थापकले इन्स्टाग्राम छाड्ने भएका छन्।
फेसबुकसँगको विवादपछि ३४ वर्षिया केभिन सिसट्रोम र ३२ वर्षिया माइक क्रिगरले इन्स्टाग्राम छाड्न लागेको घोषणा गरेका हुन्।
उनीहरुले पदबाट राजीनामा दिइसकेका छन्। इन्स्टा एप्सका कार्यकारी प्रमुख सिसट्रोमले आफ्नो ‘जिज्ञासा र क्षमता’ खोज्न आफूहरु छुट्टिन लागेको बताए।
उनीहरुले नयाँ सामाजिक सञ्जाल ल्याउने अपेक्षा गरिएको छ। सन् २०१२ मा विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले इन्स्टाग्राम १ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो।
इन्स्टा सन् २०१० देखि सुरु भएको थियो। विश्वभर यतिबेला इन्स्टाग्रामको १ अर्बभन्दा बढी प्रयोगकर्ता भएको बताइएको छ। फेसबुकका प्रमुख अधिकारीहरुसँगको विवादपछि इन्स्टाका सह–संस्थापकहरु इन्स्टाबाट छुट्टिन लागेका हुन्।

फेसबुकका कैयौं सामग्रीहरु हिंसा भड्काउने खालका भएपछि फेसबुक तनावमा रहेको छ। उसले त्यसलाई नियमन गर्ने अमेरिकी सदनमा समेत बताएको छ। तर हालै इन्स्टाले लामो भिडियो हाल्ने सुविधा प्रदान गरेको थियो।
त्यसपछि आफूले नियमन गर्ने इन्स्टामा समेत समस्या देखिएपछि फेसबुक र इन्स्टाबीच विवाद सुरु भएको हो। बीबीसीका अनुसार इन्स्टाग्रामको लोकप्रियतासँगै फेसबुकको प्रयोग करौंडौले घटेपछि फेसबुक र इन्स्टाबीच विवाद सुरु भएको थियो।
बीबीसी उत्तर अमेरिकाका प्रविधिका सम्वाददाता डेभ लिले इन्स्टाको लोकप्रियतासँगै फेसबुकले फेसबुकमा नयाँ सुविधा दिएको त्यसले इन्स्टाग्रामलाई असर गरेको बताइएको छ। उनीहरुको निर्णयसँगै फेसबुकका सिइयो मार्क जुकरबर्गले आगामी दिनका लागि शुभकामना व्यक्त गरेका छन्।










