दमक । यातायातका कर्मचारीहरुले विद्यार्थीमाथि दूरब्यवहार गर्ने गरेको भन्दै नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ । अखिल क्रान्तिकारी दमक बहुमुखी क्याम्पस इकाई समितिले आज इलाका प्रहरी कार्यालय दमकमार्फत् ध्यानाकर्षण बुझाएको हो । संगठनका केन्द्रीय सचिव महेन्द्र भट्टराईको नेतृत्वमा गएको टोलीले इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतलाई ध्यानकर्षण पत्र बुझाएको हो ।
ध्यानकर्षण पत्र बुझाउँदै भट्टराईले यातायातका कर्मचारीले बसमा सवार विद्यार्थी माथि दूरब्यवहार गर्ने, विद्यार्थीले बस चढ्न खोज्दा नदिने, विद्यार्थीले पाउने छुट उपलब्ध नगराउने र विद्यार्थीलाई अरु नागरिक सरह नगरी बसको ढोकामा झुन्ड्याउने गरेको भन्दै अपत्ति जनाए । निजी क्याम्पसका विद्यार्थीहरु क्याम्पसकै गाडीमा सवार हुने तर पब्लिक क्याम्पसका विद्यार्थीलाई यस्तो समस्या पर्ने गरेको पनि उनले प्रहरीलाई समस्या सुनाए ।
क्याम्पसका विद्यार्थी चढ्ने स्थानमा ट्राफिक प्रहरीको व्यवस्था गर्न क्रान्तिकारीले माग गरेको छ । क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य रबि बस्नेतले यातायात ब्यवसायीले यस्तो कार्य अबिलम्ब नरोके जस्तोसुकै संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिए । विद्यार्थी संगठनको ध्यानकर्षण पत्र बुझ्दै प्रहरी निरीक्षक बस्नेतले सम्बन्धित निकायमा छलफल गरेर यसको समाधान गरिने आश्वासन दिए । दमक बहुमुखी क्याम्पसमा मोरङको बेलबारी र झापाको शिवसताक्षीदेखिका विद्यार्थीहरु बस यात्रा गरेर अध्ययनका लागि दिनहुँ दमक आउने गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड