११ माघ । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले वातावरण संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

‘प्रकृति–मानव केन्द्रित जनआन्दोलन’ले आज यहाँ आयोजना गरेको सातौं जन–सार्क सम्मेलनमा उहाँले वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोेड दिनुभयो ।

मन्त्री जोशीले अतिकम विकसित राष्ट्रका गरिब जनताको मुख हेरेर विकसित राष्ट्रले आफ्ना नीति बनाउनुपर्ने उल्लेख गर्दै वातावरण संरक्षण र जलवायु परिवर्तनका असरसँग जुध्न सरकारले विभिन्न कार्यक्रम तथा कानुन निर्माण गरेको जानकारी दिनुभयो । पूर्वमन्त्री गणेश साहले वातावरण संरक्षणको ठूलो जिम्मेवारी युवा पुस्ताको काँधमा आएको बताउँदै वातावरण प्रदूषण नियन्त्रणका लागि अब कुराभन्दा पनि परिणाममुखी काम गर्ने बेला आएको छ भन्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वातावरणविद् डा कृष्ण ओलीले जलवायु परिवर्तनका असरले मानव जीवनमा भयावह अवस्था पैदा गरेको बताउँदै बिग्रिएको वातावरण सुधार्न विश्वका राजनीतिक नेतृत्वबाटै सामूहिक पहलकदमी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा जनआन्दोलनका अध्यक्ष दिनदयाल रिजाल, सम्मेलनमा भाग लिन आउनुभएका भारतका इफ्रान मोहम्मद, चीनका प्राध्यापक ली थाओ, कोरियाका किजुलीलगायतले वातावरण संरक्षण गर्नु प्रत्येक व्यक्तिको दायित्व भएको बताउँदै वातावरण संरक्षणमा विश्वव्यापी साझेदारीको अपरिहार्यता भएकोमा जोड दिनुभयो ।