काठमाडौं । भारतले सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्न सर्वे टोली नेपाल पठाउने भएको छ ।

दुई वर्ष अघिको भूकम्पका कारण सगरमाथाको उचाईमा कुनै असर परेको छकि छैन भने अध्ययन गर्न भारतले सर्वे टोली पठाउन लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन् १८५५ मा सगरमाथाको उचाई नापिएको थियो । सर्वे अफ इण्डियाले नापेको २९ हजार २८ फिट ९८ हजार ८४८ मिटर० लाई नै अहिलेसम्म सगरमाथाको आधिकारिक उचाई मानिएको छ ।

यसबीचमा सगरमाथाको उचाईबारे थुप्रै अध्ययन रिपोर्टहरु पनि आएका छन् । तर, अहिलेसम्म सर्वे अफ इण्डियाले गरेको मापनलाई आधिकारिक मानिएको छ ।

‘नेपालमा ठूलो भूकम्प गएको दुई वर्ष पुगिसक्यो । बैज्ञानिक समुदायमा सगरमाथाको उचाई घटेको हो कि भन्ने कुराहरु आइरहेको छ,’ भारतका नापी प्रमुख स्वर्ण सुब्बा राओले पीटीआईसँग भने, ‘हामीले सगरमाथामा छिट्टै एउटा टोली पठाउँदैछौं ।’

यसले महादेशीय प्लेटको अवस्थाबारे बैज्ञानिक अध्ययनमा पनि सहयोग पुग्ने उनले बताएका छन् ।

सर्वे टोली पठाउन आवश्यक सबै प्रक्रिया पुरा भइसकेको नापी प्रमुख राओले बताए । उनका अनुसार हैदरावादमा भएको जिओस्पेसियल वर्ल्ड फोरममा नेपालका नापी प्रमुखसँग पनि यसबारे कुराकानी भएको थियो ।

सगरमाथाको उचाई नाप्न भारतले दुई महिनाभित्र टोली पठाउने उनले बताए । उनका अनुसार टोलीले सगरमाथामा एक महिना विताएर अध्ययन गर्नेछ र, निष्कर्ष सार्वजनिक गर्न थप १५ दिन लाग्ने आंकलन गरिएको छ ।