जीएस पौडेल
सीके राउतले देश टुक्र्याउने अभियान चलाउँदा चुइक्क नबोल्ने सरकारी रवैयाको आज चर्चा नगरौं । भूकम्प पीडितलाई हेलिकप्टरबाट पैसा बाँड्छु भन्नेले पीडितलाई यो जाडो याममा पनि पालमुनी राखेको कुरा पनि नगरौं । परराष्ट्रमन्त्रीले ६ महिनामा ६ पटक भारत भ्रमण गरिसके, उनी मासिक तलब बुझ्न जान्छन् कि नगई नहुने केही आवश्यकता परेको हो भन्ने पनि चियोचर्चाे नगरौं । जातीय बितन्डा उराल्ने प्रचण्डको भाषण पनि एक छिन नसम्झौं । आफ्नो पोलिटब्युरोको बैठकमा तराई र पहाड छुट्याउनु पर्छ भन्दै बोलेको अडियो सार्वजनिक भएको र त्यसले प्रचण्डको उद्धेश्य नेपालको भूखन्डीकरण हो भन्ने स्पष्ट पारेको कुरा पनि एकछिन छोडौं । संविधान संशोधन मार्फत भारतीय एजेन्ड घुसाएर तराईमा बिहारीहरण गर्नको लागि ठाँउ बनाउन थालेको कुरालाई पनि आज बहस नगरौं । गृहमन्त्रीले टीकापुर घटनाका अपराधीलाई उन्मुक्ती दिन गरीरहेको पहलका बारेमा पनि आज कुरा नगरौं । सरकारले राष्ट्रघाती अपर कर्णालीको सम्झौता नविकरण गरेको बिषय पनि नकाट््याउँ । उच्च अदालतको मामलामा भएको राजनीतिले न्यायपालिकामा पर्ने असरका बारेमा पनि यसपाली नबोलौं । भारतीय जेट बिमानका एयर मार्सललाई बास दिने आपत्तिजनक बिषय पनि आज थाती राखांै । आज एक नजर यो सरकारले बिगत ६ महिनामा देखाएका कुटनीतिक क्रियाकलापहरुमा लगाऔं । म केही घटनाहरु यहाँ राख्न चाहन्छु ।
नेपालको आन्तरिक सुरक्षा खलल पार्ने उद्धेश्यका साथ पटनामा बैठक भएको विषयलाई उच्चस्तरीय गोपनीयतामा रहेर जाँच पड्ताल गर्नु पर्नेमा राजनैतिक फाईदाको लागि सार्वजनिक गरे ।
१. प्रचण्ड प्रधानमन्त्री भएको केही समयमै उपप्रधानमन्त्री निधिलाई भारत र अर्का उपप्रधानमन्त्री महरालाई चीन तर्फ बिशेष दूत बनाएर पठाए । कुनै बिशेष परिस्थिति नभएको अवस्थामा बिशेष दूत पठाईंदैन तर, कुटनीतिको हास्यब्यङ्ग्य गर्दै प्रचण्डले यस्तो लज्जित निर्णय गरे । मैदानमा आउँदा बितिक्कै बिकेट झर्यो यिनको कुटनीतिको ।
२.प्रचण्ड दिल्ली राजकीय भ्रमणमा भएका बिबादस्पद संयुक्त वक्तब्यले पूरा देश नै तातेको थियो । चरम नाकाबन्दीले हामीलाई तर्साएको भारतको राजाधानीमा प्रचण्डले भारतीय मिडियाहरुमा नेपालको संविधानका बारेमा बोलेका अनावश्यक कुराहरुले उनको कुटनीति कति गैर गिम्मेवार छ भन्ने देखाउँछ । कुनै पनि मुलुकको आन्तरिक समस्याका बारेमा अर्को मुलुकमा गएर आफ्ना प्रतिस्पर्धी राजनीतिक पार्टीलाई औंला ठड्याउने र आफ्नो संविधानको आफंै खिल्ली उडाउदै हिंड्नु बेतुक कुटनीतिको पराकाष्टा नै हो । एउटा गवाँरको कुटनीति भन्दा पनि लाजमर्दो ।
३. मिडियामा मात्र होइन, प्रचण्डले नेपालको नितान्त आन्तरिक ममलालाई दुईपक्षीय सम्झौतामा समेत उल्लेख गरेका छन् । २५ बुँदे उक्त सम्झौताको बुँदा नम्बर १० मा भारतले नेपालको संविधानको विषय जबरजस्ती घुसाइएको छ र संविधान ठीक छैन भनेको छ । प्रचण्डले त्यो सम्झौतामा हस्ताक्षर गरेका छन् । त्यसमा प्रचण्डको कुटनीतिले घाँस खाएको छ भने सम्पूर्ण नेपालीले लामो त्याग र बलिदानबाट आएको संबिधानको प्यारोडी बनाईएको छ ।
४. सोही सम्झौताको बुँदा नम्बर ११ मा नेपालको परराष्ट्र नीतिलाई बाँदर र भारतको नीतिलाई मदारी बनाइएको छ, अर्थात् भारतले लिने अन्तर्राष्ट्रिय नीति उसको कुनै उपनिवेश जस्तै भएर हामीले मान्नु पर्ने कुरामा प्रचण्डले हस्ताक्षर गरेका छन् । जसले हामीलाई भारतको अघी लम्पसार पारिदिएको छ र सधैं उसको निर्णयको बन्दी बनाइदिएको छ । यसको ज्वलन्त उदाहरण पुसको अन्तिम साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सिरियामा मानव अधिकार हनन् सम्बन्धी मुद्दामा नेपालले भारतको पदचाप पछ्याउन परेको वाध्यताबाटै देखिईसकेको छ ।
५. सोही सम्झौताको बुँदा नम्बर १३ मा पनि प्रचण्डको कुटनीतिको धोती खुस्किएको छ । नेपाल–भारत द्विपक्षीय बिभिन्न परियोजनाहरुको मुल्यांकन गर्न नेपालस्थित भारतीय दूतावासको अधिकार र नेपाल सरकारको अधिकारीको हैसियत बराबरी हुनेगरी हस्ताक्षर गरिएको छ र नेपाल सरकारको हैसियतलाई नमिठोसँग ब्यंङ्ग्य गरिएको छ । यसको ब्यापक बिरोधपछि गोवा गएको बेला मोदीसँग यसलाई सच्याउन लगाइने छ भन्ने उडन्ते समाचार सुनिएको थियो, तर त्यसको अरु अत्तोपत्तो छैन । रात गए, बात गए, जनताले भुले प्रचण्डलाई के को खसखस ।
यतिखेर अमिलोले कुंडिएको दाँतजस्तो भएको छ चीनसँगको हाम्रो परराष्ट्र सम्बन्ध । कुंडिएको कुटनीति ।
६. प्रचण्डले सोही राजकीय भ्रमणको बेला दिल्लीमा टीकापुरको साम्प्रदायिक जघन्य अपराधमा मुछिएका र राज्यले नै खोजी गरीरहेको अपराधी रेशम चौधरीलाई भेटे । प्रचण्डलाई राजकीय भ्रमण भनेको के हो, त्यो भ्रमण गर्ने उनको आफ्नै हैसियत, अनुशासन र मर्यादा भन्ने कुन चरोको नाम हो भन्नेसमेत हेक्का रहेन । जंगलमा पड्काएको बन्दुकले पातहरुमा प्वाल परेजस्तै प्वाल नै प्वाल परेको यो कुटनीतिले जगत हंसायो र हामीलाई लाज्जित र दुखित बनायो ।
७. सी जिनपिङलाई नेपाल आउन बन्देज लगाउँदै, बिमस्टेक बैठकका लागि गोवा पुगेका प्रचण्डको भ्रमणमा एकाएक सी जिनपिङ, मोदी र प्रचण्डको त्रिपक्षीय वार्ता भएको कुरा उनकै स्वकीय सचिवले फोटोसहित सामाजिक सञ्जालमा हालेपछि त्यो समग्र नेपालमा एकाएक भाईरल बन्यो । त्यसको केही समयमै भारतले बिज्ञप्ति जारी गरेरै त्यसको खण्डन गर्यो र भन्यो त्यो कुनै त्रिपक्षीय वार्ता थिएन त्यो अचानक भेट हुँदा भएको अनौपचारिक हार्दिकता थियो । चीनले लिएको नेपाल नीतिका कारण अधिकांश नेपालीहरुमा चीनप्रति ठूलो सद्भाव छ, त्यही सद्भावलाई क्यास गर्न सकिन्छ कि भन्ने उद्धेश्यले अभिप्रेरित यो त्रिपक्षीय वार्ताको झूठो पुलिन्दाले चीन र भारतलाई समेत तान्यो र यसले नेपालको कुटनीतिलाई केटाकेटीको खेलजस्तो बनाइदियो । केटाकेटी कुटनीतिले हामीलाई रातोपिरो हुने गरी लज्जित पारिदियो ।
८. असोजको अन्तिम साता भारतको काश्मिरमा आतंककारी हमला भयो र भारतीय सुरक्षाकर्मीहरु मारिए । भारतले यही बिषय उठाएर पाकिस्तानमा हुन गैरहेको सार्क सम्मेलन बहिस्कार गर्ने निर्णय गर्यो । सार्कको अध्यक्षको नाताले नेपालले बिज्ञप्ति जारी गरेर सबै सार्क मुलुकहरुलाई सम्मेलनको बातावरण मिलाउन भन्यो, यहाँसम्म ठीक थियो । त्यसपछि नेपाल सरकारले तारन्तार अरु २ बिज्ञप्तिहरु निकाल्यो र सम्पूर्ण दोष पाकिस्तानमाथी पोखिएको आशय सहित पाकिस्तानलाई सम्मेलनको लागि उचित बातावरण बनाउन फर्मान सुनायो । सार्क अध्यक्षको हैसियत भन्दा तल गिरेर भारतको बोलिमा लोलि मिलाउन के आवश्यक, त्यै माथि पनि हामीले आबलम्बन गरीरहेको अहस्तक्षेपको परराष्ट्रनीतिको बिपरीत गएर ? कुट्नेनीति र कुटनीति फरक हो प्रचण्डजी, छापामार हुनु र मुलुक हाँक्नुको भिन्नता सिक्नुस् ।
९. सरकारको खुस्किंदो कुटनीतिको पराकाष्टा तब देखियो जब भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा काठमन्डौमा कफ्र्यू लगाईयो र सुरक्षाको कारण देखाएर सिंगै मुलुकमा राष्ट्रिय बिदा घोषणा गरियो । यो स्पष्ट रुपमा औपनिवेशिक मानसिकताको उपज हो । अझ हास्यास्पद कुरा त के छ भने नाकाबन्दीको चरम पीडा भोगेका नेपालीहरुले बिभिन्न माध्यमबाट ओकलीरहेको बिरोधको ज्वालामुखी शान्त हुन्छ कि भनेर अनावश्यक रुपमा तय नै नभएको (नहोस् भनेरै बनेको सरकारले) चिनियाँ राष्ट्रपति आउँदा पनि सार्वजनिक बिदा दिने निर्णय गर्यो । जसले चीनलाई जबरजस्ती यो बिवादमा तान्यो । यस्तो हविगतको कुटनीतिको सहारामा मुलुक चलिरहेको छ, हरेक पटक भारतको नाम लिदा चीनको पनि नाम लिएपछि छिमेकी सम्बन्ध सन्तुलित हुन्छ भन्ने दरिद्र कुटनीति लिएर हिंडेको छ सरकार ।
१०. सरकार गठबन्धनको ठूलो दलका सभापति तीन पटकसम्म यो मुलुकको प्रधानमन्त्री भैसकेका शेरबहादुर देउवाले गोवामा नेपालले घोषित रुपमै मान्दै आएको एक चीन नीतिको बिपरित फ्रि तिब्बतका हिमायती दलाई लामाका स्वघोसित प्रधानमन्त्री लोब्साङ साङगेलाई भेटेर कुटनैतिक मर्यादा खलल पार्दै चीनलाई सशंकित बनाए । सारा जनताको हातमा देउवाले सांङ्गेलाई भेटेको प्रमाण पुगिसक्दा समेत सरकारको जिम्मेवार दलको ठूलो नेताले उल्टै झुटको पुलिन्दा खडा गर्दै नभेटेको दावी मात्रै गरेनन् उल्टै यस्तो समाचार छप्नेलाई भित्तामा पुर्याइदिन्छु भन्दै गैर जिम्मेवार अभिब्यक्ति दिए । तर सत्य बाहिर आएरै छाड्यो र चीनले नेपाल सरकारसँग एक चीन नीतिका बारेमा खुलेरै धारणा माग्यो । एकपटक फेरि यो सरकारले कुटनीतिक मर्यादामा आची गर्यो र राष्ट्रले त्यो खानु पर्यो । देउवा–साङ्गेको फोटो सार्वजनिक भएपछि परराष्ट्रमन्त्री प्रकाशशरण महतले यो फोटो एडिट गरिएको हो भनेर समेत भन्न भ्याए, जगत हँसाए ।
११. केही समयअघि भारतले नेपाली सेनालाई आफू मातहत संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा लैजाने पहल गरिरहेको कुरा समाचारहरुमा छपिए, समाचारहरु भाईरल नै भए । सेनाले सरकारलाई खबरदारी पनि गर्यो भनेर खबरहरुले सुनाए । तर सरकारले यो बिषयमा जनतालाई स्पष्टिकरणसम्म दिएन । यो कस्तो कुटनैतिक अभ्यास हो जो भारतको छायाँ पर्नासाथ गरुड मुनिको सर्पजस्तै लत्रिने ?
१२. अघिल्लो हप्ता एमाले उपाध्यक्ष भीम रावलले राष्ट्रपति निवासमै प्रधानमन्त्रीलाई भारतको पटनामा नेपालको आन्तरिक सुरक्षा र सामाजिक सद्भावलाई खलल पार्ने उद्धेश्यका साथ बैठक भएको र त्यसले मधेसमा ठूलो घटना घटाउन मद्दत गरिरहेको कुरा सुन्नमा आएको भन्दै उच्चस्तरीय गोपनियतामा रहेर त्यो बिषय उठाए । सरकारले त्यसलाई गम्भीरता पूर्वक लिएर सुरक्षा संयन्त्रका सुराकीहरुलाई जाँच पड्तालको लागि खटाउनुको सट्टा त्यस्तो गम्भीर कुरालाई राजनैतिक फाईदाको लागि सार्वजनिक गर्यो र सम्बन्धित निकायसँग गम्भीर परामर्श नै नगरि बिपक्षीले गलत कुरा गर्यो भन्दै हिड्यो । त्यसको केही दिनमै सो घटना सत्य भएको भन्ने कुराहरु बाहिर आएका छन् ।
१३. अघिल्लो सरकार जसमा स्वयं अहिलेकै प्रधानमन्त्रीको पार्टीको ठूलो हिस्सामा सहभागिता थियो । त्यसले राजदूत दीपकुमार उपाध्यायलाई अमर्यादित काम गरेको ठहर गर्दै भारतबाट फिर्ता बोलाएको थियो । प्रचण्ड प्रधानमन्त्री बनेपछि त्यही राजादूतलाई फेरि नियुक्ती गरेर भारतमै पठाउने कामले प्रचण्ड र उनको सरकारसँग कुटनीतिको कुन हदसम्म खडेरी परेको छ भन्ने छर्लङ्ग हुन्छ । यतिखेर त्यही राजदूतले भारतका बिभिन्न कार्यक्रममा गएर मुलुकको हित बिपरित सार्कको औचित्यमा प्रश्न खडा गर्दै हिंडेका छन् । त्यति मात्रै होइन सार्कको सदस्य राष्ट्र पाकिस्तानमाथी अंतकवादको आरोप लागाउने खलका अभिब्यक्ति दिदै हिंडेका छन् । यिनी भारतका लागि नेपाली राजादूत हुन् कि भारतीय अमुक राजनीतिक पार्टिको नेता ? यो मुलुकको एउटा मित्र राष्ट्रमाथि कुटनैतिक मर्यादालाई मन्डन गरेर मुलुककै सम्बन्धमा गम्भिर समस्या खडा गर्ने खालका क्रियाकलाप गर्दै हिंड्दा समेत यो सरकार मुर्दा भएको छ । यस्तो कुटनीति बोकेर अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्छु भन्दै हिंडेको छ यो सरकार, कठै हाम्रो दुर्दशा ।
१४. चीन हाम्रो लागि एउटा महत्वपूर्ण र सधैं हाम्रो आन्तरिक मामलामा तटस्थ बस्ने छिमेकी हो र चीनको लागि एक चीन नीति कती महत्व राख्ने कुरा हो भन्ने कुरा सामान्य राजनीति बुझ्नेलाई पनि थाहा छ । तर यो सरकार यति गम्भिर कुरामा समेत खेलाची गरिरहेको छ । दलाई लामाको बिषयलाई लिएर मंगोलिया र चीनबीच बिबाद चल्दै थियो भन्ने कुरा के यो सरकारलाई थाहा थिएन ? त्यस्तो बिबाद चलिरहेको बेलामा मंगोलियाका विदेशमन्त्री र चीनियाँ नेता लिउ क्विबाओ भ्रमण एकै साथ किन तय गरियो ? त्यतिमात्रै होइन झन्डै झन्डै एकै समयमा उनीहरुलाई एउटै भवनको दुई अलग कोठामा राखिएको थियो । यो कस्तो लापर्वाही हो ? सरकारका कुटनैतिक सल्लाहाकारहरु भाङ खाएर बस्छन् कि के हो ?
चीनले लिएको नेपाल नीतिका कारण अधिकांश नेपालीहरुमा चीनप्रति ठूलो सद्भाव छ, त्यही सद्भावलाई क्यास गर्न सकिन्छ कि भन्ने उद्धेश्यले अभिप्रेरित यो त्रिपक्षीय वार्ताको झूठो पुलिन्दाले चीन र भारतलाई समेत तान्यो र यसले नेपालको कुटनीतिलाई केटाकेटीको खेलजस्तो बनाइदियो ।
१५. कात्तिकमा बबरमहलको आर्ट काउन्सीलमा ताईवानको झन्डा लहराईदा नेपालस्थित चिनियाँ राजदूतले थाहा पाएर प्रहरीलाई खबर गर्दा समेत हाम्रो सरकार कुनै कुनामा गंजेडी गफ दिएर जातीय झगडा लगाउन ब्यस्त थियो । यस्ता गम्भीर कुराहरुमा कुटनीतिको भ्वाङ किन पर्छ ?
१६. केही महिनाअघि निमन्त्रणा स्वीकार गर्दै चीनका प्रान्तीय सुरक्षा मामलाका प्रमुख वाङ चोङ सोङ सहितको डेलिगेसन नेपाल आयो । कति लज्जास्पद छ सुन्दा पनि, कि आफैले बोलाएको डेलिगेसनलाई भेट पनि नदिएर लज्जित गरेर फर्कायो यो सरकारले । भेट्न नपाएपछि उनीहरु नगरकोट घुमेर स्वदेश फिर्ता भए भन्ने सुनियो । यतिखेर अमिलोले कुंडिएको दाँतजस्तो भएको छ चीनसँगको हाम्रो परराष्ट्र सम्बन्ध । कुंडिएको कुटनीति ।
१७) लगभग दुई महिनाअघि नेपालका लागि यूरोपेली संघकी राजदूत रेन्से तेरिङले कुटनैतिक मर्यादाको बिपरित नेपालमा जातीय अतिवादलाई बढावा दिने खालका ट्वीटहरुलाई प्रोत्साहन गरेर हाम्रो संविधानको बिरोधलाई मलजल गरिन् । कुटनीतिको हद पार गरिएको ठीक यस्तै घटना ओली सरकारको पालामा पनि भएको थियो । तर, त्यति बेला ओलीले बालुवाटारमै बोलाएर उनीहरुलाई झापारेका थिए । जसको फलस्वरुप उनीहरुको दूतवासले सार्वजनिक रुपमै माफी मागेको थियो । यो सरकारले कानमा तेल हालेर बस्यो, देशको सार्वभौमिकतामा हालीमुहाली हुँदासम्म पनि एक शब्द बोलेन । म यसलाई मेरो निजी शब्दमा तुरतुरे कुटनीति भन्छु ।
१८. संसदमा संविधान संसोधन टेबल हुनु अघि, प्रचण्डको अभिब्यक्ति बाहिर आयो, उनले भने कि प्रधान न्यायाधीशसँग उनको कुरा मिलिसकेको छ जसलाई तुरुन्तै सर्वोच्च अदालतले खण्डन गर्नु पर्यो । अलिअघि अख्तियारको सम्बन्धमा पनि यस्तै अभद्र अभिब्यक्ति दिंदै थिए यिनै प्रचण्ड । हेर्नुस् त यो मुलुकको कार्यकारीको मर्यादाको दयनीय स्थिति ।
सरकारले बारम्बार कुटनैतिक गल्तीहरु गरेर यो देशले लज्जित भैरहनु पर्ने हाम्रो ‘बरै’ अवस्था ठ्याक्कै बेस्मारी तुरतुरे लागेको कुनै ब्यक्तिको अवस्था जस्तो छ । तुरतुरे लागेको ब्यक्तिलाई कहाँ कुन ठाँउमा पित्त गर्दै चुहिने हो र बेइज्जत भईंने हो भन्ने पीर भए जस्तै मलाई यो सरकारले कहाँ कुन ठाँउमा कुटनैतिक गल्ती गर्ने हो र समग्र राष्ट्रको बेइजत हुने हो भन्ने पीर लागिरहन्छ । चक्रपथबाट



