मेलम्ची, १३ माघ । मानवीय क्षति व्यहोरेका, अपाङ्ग, आर्थिक अवस्था कमजोर भएका, एकल तथा विपन्न वर्गका भूकम्पपीडितले निःशुल्क नक्सा पाउने भएका छन् ।

युएनडिपीको सिडिआरपी कार्यक्रमअन्तर्गत पुल्चोक इन्जिनियर कलेज तथा जापान सरकारको सहयोग र मेलम्ची नगरपालिकाको समन्वयमा निःशुल्क नक्सा वितरण गर्न लागिएको मेलम्ची नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेलम्ची नगरपालिकाको १५ वडामध्ये प्रत्येक वडा कार्यालयले माथि उल्लिखित वर्गका भूकम्प पीडितको पहिचान गरी सिफारिस गरेका न्यूनतम आठ परिवारले भूकम्प प्रतिरोधात्मक आवास निर्माणका लागि निःशुल्क नक्सा पाउने दुलालले उल्लेख गर्नुभयो ।

दुलालका अनुसार गरिब तथा एकल महिला लगायतका भूकम्पपीडितले शुल्क तिरेर घरको नक्सा बनाउन नसक्ने भएपछि नगरपालिकाको पहलमा पीडितलाई सहयोग गर्न यस्तो योजना अघि सारिएको हो । मेलम्ची क्षेत्रमा इन्जिनियरहरु नभएका कारण युएनडिपीको सहयोगमा पुल्चोक इन्जिनियरिङ कलेजका इन्जिनियरहरुसँग सहयोग लिएर नक्सा बनाउन लागिएको हो ।

बुधबारदेखि ३० जना इन्जिनियरको टोलीले मेलम्चीमा शिविर खडा गरी नक्सा बनाउने कार्य सुरु गरेका छन् । वडाले सिफारिस गरेका भूकम्पपीडितले आफ्नो सम्पूर्ण कागजपत्र तथा वडाकोे सिफारिसपत्रसहित शिविरमा सम्पर्क गरेपछि इन्जिनियरले पीडितको आवास निर्माण गर्न योग्य स्थानको छनोट गरी नक्सा बनाइदिने नगरपालिकाको इन्जिनियर राजेश शर्माले बताउनुभयो ।

बुधबार मात्र दुई जनाको १० वटा टोली सर्वेक्षणका लागि नगरपालिकाको शिखरपुर, तालामाराङ लगायतका विभिन्न गाउँमा पुगेका थिए । तीन दिनसम्म चल्ने उक्त कार्यक्रम अन्तर्गत लागि वडाले माथि उल्लिखित वर्गको पहिचान गरी नक्सा बनाउनका लागि सिफारिस गर्नेछ । नगरपालिकाभित्र पनि भौगोलिक हिसाबले विकट ठाउँहरु रहेकाले पीडितसमक्ष पुग्न र सर्वेक्षण गरेर फर्कन समय लाग्ने देखिएको छ ।