काठमाडौं । स्मार्ट कार्ड ‘सवारीचालक अनुमतिपत्र’ मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।

मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न लागेको विभागका प्रवक्ता उपाध्यायले बताउनुभयो ।
विभाग आफैले पनि स्मार्ट लाइसेन्स प्रिन्ट गरिरहेको छ । मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसको प्राविधिक सहयोगमा विभागले कार्ड छपाइ गर्दै आएको थियो । विभागले गरिरहेको प्रिन्टिङ पनि चालू नै रहने प्रवक्ता उपाध्यायले बताउनुभयो । जनवरीदेखि अक्टोबरसम्मको कार्डको छपाइ मात्रै मालिकाले गर्ने छ । त्यसपछि पुनः विभागले नै कार्ड छपाइ गर्ने उपाध्यायले बताउनुभयो ।

विभागले १० लाख लाइसेन्सलाई तत्काल स्मार्ट कार्डमा बदल्नुपर्नेछ । यसमध्ये झन्डै चार लाख कार्ड वितरण भएका छन् । तर, वितरण भएका कार्डमा समेत समस्या देखिएपछि पुनः प्रिन्ट गर्नुपर्ने भएको छ । उपाध्यायका अनुसार, कार्ड छपाइका लागि मालिकाले २० वटा प्रिन्टिङ मेसिन ल्याएको छ । प्रत्येक मेसिनले दैनिक एक हजारभन्दा बढी कार्ड छाप्न सक्ने उनले बताए । हाल विभागले दैनिक २ हजार ५ सय कार्ड छपाइ गरिरहेको जनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर