काठमाडौं, १४ माघ । एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने बेला बिजुलीको लाईन गएपछि आयोजकलाई लक्षित गरेर कायृकर्ताले ढुंगा प्रहरा गर्दा चार जना घाइते भएका छन् ।
आजको कान्तिपुरमा खबर छ– बिहीबार छैटौं वालिङ महोत्सव उद्घाटनपछि ओलीले सम्बोधन गर्दा गर्दै बिजुली गएको थियो । बिजुली ढिलो आउने खबर पाएपछि उनी मन्त छाडेर हिँडेका थिए । ओली हिँडेपछि आक्रोशित कार्यकर्ताले आयोजकलाई ढुंगा हानेका हुन् ।
विपक्षीहरुले नियोजित तरिकाले लाइन काटेको भन्दै कार्यकर्ता आक्रोशित भएका थिए । उनीहरुले महोत्सव स्थगित गर्न नाराबाजी समेत गरे ।
त्यसपछि आयोजक उद्योग वाणिज्य संघले क्षमा मागदै महोत्सव उद्घाटन सत्र सम्पन्न भएको घोषणा गरेका थिए । ओली फर्किएपछि कार्यकर्ताले ढुंगामुढा गर्दै केही समय सिद्धार्थ राजमार्गमा आवागमन अवरुद्ध पारे । उनीहरुले स्टलहरु समेत बन्द गराएका थिए ।



