१४ माघ । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले सरकार स्थानीय तहको चुनावको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको बताउनुभएको छ ।

पाँचथरको फिदिममा आज बिहान राससकर्मीसित कुराकानी गर्दै राज्यमन्त्री जवेगुले बढीमा १५ दिन भित्रमा चुनावको मिति घोषणा हुने बताउनुभयो । स्थानीय तहको चुनावसँगै संविधान कार्यान्वयनको प्रक्रिया सुरु हुने भन्दै राज्यमन्त्री जवेगुले सरकार अब चुनावबाट पछि नहट्ने स्पष्ट पार्नुभयो ।

त्यसका लागि सत्ता साझेदार र प्रतिपक्षीदलबीच सहमति हुन आवश्यक भएकाले आवश्यक छलफल र संवाद भइरहेको उहाँको भनाइ थियो ।

राज्यमन्त्री जवेगुले संविधान संशोधनका चारवटा विषयमध्ये प्रमुख सीमाङ्कनको विषयलाई सङ्घीय आयोग बनाएर आयोगले गर्ने सिफारिसका आधारमा टुङ्गो लगाइनुपर्ने बताउनुभयो । विभिन्न वर्ग र समुदायले उठाइरहेका राजनीतिक अधिकार सुनिश्चित हुन अझै बाँकी रहेको उल्लेख गर्दै जवेगुले बाँकी अधिकार प्राप्ति र मुलुकको समृद्धिको दिशामा एकसाथ अघि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी आवश्यक परामर्श र छलफलका लागि गृह जिल्ला पाँचथर आइपुग्नुभएका राज्यमन्त्री जवेगुले पत्रकारसँग जिल्लाको शान्तिसुरक्षा, विकास निर्माण र कार्यालयको कार्यसम्पादनको अवस्थाका बारेमा जानकारीसमेत लिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय